काठमाडौँ, साउन ९ – केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८२ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९२ प्रतिशत रोपाइँ भएको छ अर्थात् एक हप्तामा १० प्रतिशत मात्र रोपाइँ भएको छ तर गत वर्षको यसै अबधिभन्दा यो वर्षको रोपाइँ धेरै भएको छ । गत वर्ष यति बेलासम्म ६३.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
बाढीले खेतीयोग्य जमिन डुबानमा परेका कारण यो हप्ता धान रोपाइँ अलि कम भएको बताइएको छ । साउनको पहिलो तथा दोस्रो हप्ताभित्र धान रोपाइँ सम्पन्न हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लक्ष्य थियो तर यो बाढीले गर्दा केही असर पारेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार धेरै ठाउँमा रोपाइँ भइसकेको र थोरै मात्र बाँकी थियो । बाढी नआएको भए सम्भवतः यो हप्ता रोपाइँ सकिन्थ्यो तर त्यसले अलिअलि असर गरेको छ । ’ तराईका अधिकांश समथल भूभाग डुबानमा परेका छन्, त्यसमध्ये धेरै ठाउँमा रोपाइँ भइसकेको थियो, रोपिसकेको ठाउँमा बाढीले क्षति पु¥याएको छ । क्षति पुयाएको ठाउँमा पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।
बाढीका कारण प्रदेश २ मा मात्र ८६ हजार हेक्टरमा लगाइएको धान लगायतका बाली नष्ट भएको छ । अन्य जिल्लाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ का कृषि मन्त्रालयका सचिव विमल निर्मलले रोपाइँ भइसकेको ठाउँमा १० देखि २० प्रतिशत पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण सङ्घको कृषि मन्त्रालयलाई पठाएको बताउँदै उहाँले क्षतिबारे सङ्घीय सरकारले केही नगरे प्रदेशबाट नै पीडित किसानका लागि केही सहयोग गर्ने बताउनुभयो । यद्यपि प्रदेश २ मा साउन ६ गतेसम्म ९४.१७ प्रतिशत रोपाइँ भइसकेको छ जब कि असार ३१ गतेसम्म ८३.४१ प्रतिशत रोपाइँ मात्र भएको थियो । डुबान नभएको ठाउँमा अझै रोपाइँ भइरहेको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश १ मा असार ३१ गतेसम्म ६९.९१ प्रतिशत रोपाइँ मात्र भएको थियो भने साउन ६ गतेसम्म ८२.४१ प्रतिशत रोपाइँ भएको छ ।
त्यस्तै, बाग्मती प्रदेशमा असार ३१ गतेसम्म ७२.१० प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ८२.२२ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.११ प्रतिशत, प्रदेश ५ मा ९५.१४ प्रतिशत रोपाइँ भइसकेको छ । कर्णाली प्रदेश ९६।२३ प्रतिशत र सुदूूरपश्चिम प्रदेशमा ९५.४९ प्रतिशत रोपाइँ भइसकेको छ । बाढीका कारण देशैभर बालीनालीमा पुगेको क्षतिको विवरण कृषि मन्त्रालयले सङ्कलन गरिरहेको छ । देशैभरको तथ्याङ्क आइसकेपछि क्षतिको बारेमा के गर्न सकिन्छ भन्ने निर्णय गरिने प्रवक्ता केसीले बताउनुभयो ।
FACEBOOK COMMENTS