काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेन्जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको राष्ट्रिय सम्पत्ति र जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै संघले आगामी दिनमा मुलुकको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘यस संघ देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको छ । नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने सम्पूर्ण समन्वयात्मक कार्यमा सहयोग गर्न र मुलुकलाई अर्थ–सामाजिक सङ्कटबाट बाहिर निकाल्दै व्यवस्थित र दिगो आर्थिक विकासतर्फ अघि बढाउन संघ दृढ प्रतिवद्ध छ ।’
यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै, देशको अर्थतन्त्र पुन: गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्न आफूहरू प्रतिवद्ध रहेको अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
उनले युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति सुरक्षा, नागरिकको सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भष्ट्राचारमुक्त प्रणाली, लगानी र रोजगारीको प्रवर्द्धन तथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माणमार्फत समुन्नत समाज बनाउन सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन् ।
संघले प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
FACEBOOK COMMENTS