मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको विरुद्धमा जेन्जीहरूले दुई दिनमै आन्दोलन छेडे । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर करिब दुई दर्जन बालबालिका र अन्य धेरै युवायुवतीहरूले ज्यान गुमाएका छन् । भदौ २३ र २४ गते भएको क्रान्तिसहितको आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या हिजो मंगलबारसम्ममा ७४ जना पुगेको छ ।
नेपालमा राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गर्दै अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा साना–ठूला थुप्रै आन्दोलनहरू हुँदै आएका छन् । तर, ती आन्दोलनहरू भन्दा अहिले जेन्जीहरूले गरेको आन्दोलन संसारमै पृथक र ऐतिहासिक बन्न पुग्यो । भ्रष्टाचार र कुशासनविरुद्ध स्वत:स्फूर्त युवा–विद्यार्थीको सहभागिता, दुई दिनमै सत्तालाई घुँडा टेकाउनु र विद्यमान शासन व्यवस्थामाथि पुनर्संरचनाको वहस सृजना गरिनु यो आन्दोलनको ऐतिहासिक र सफल पक्ष हुन् ।
साथसाथै जेन्जीहरूको नि:स्वार्थ र शान्तिपूर्ण आन्दोलनमा स्वार्थ समूहहरूको घुसपैठ, उनीहरूले सृजना गरेको अराजकता र त्यसबाट उत्पन्न परिस्थितिका कारण दर्जनौैँ मानिसको ज्यान जानु र मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित प्राय: महत्त्वपूर्ण सबै भौतिक संरचनाहरूमा समेत निर्मम क्षति पुर्याइनु यो आन्दोलनको दु:खद र अकल्पनीय पक्ष हो । आन्दोलनका क्रममा घाइते भएका सयौँ विरामीहरूको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज सरकारले शोक विदा दिएको छ । यस दु:खद घडीमा कर्पोरेट खबर परिवार सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइते भइ उपचाररत सबैमा शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौँ ।
यी सम्पूर्ण घटनाक्रमसँगै सहिदहरूले बगाएको अमूल्य रगतको बीचबाट अहिले देशमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । खासगरी जेन्जी आन्दोलनको जगमा टेकेर आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने दिशानिर्देशसहित यो सरकार गठन गरिएको हो । तर, जेन्जी आन्दोलनका क्रममा भएको अकल्पनीय नरसंहार र विध्वंशका घटनामा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएर सजाय दिलाउँदै विधिको शासन र कानुनी राज्यको पुनर्स्थापना पनि यो सरकारको मूल कार्यभारभित्रै पर्दछ । यस्तै, जेन्जीले उठाएको मुद्दा अनुसार वि.सं. २०४७ सालयता सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानविन गरी कानुनी कारबाही चलाउने दिशानिर्देश पनि यो सरकारले प्राप्त गरेको छ ।
यी सबै कार्यभारमध्ये अहिले प्राथमिकता दिनुपर्ने विषय भदौ २३ र २४ गते भएको अमानवीय नरसंहार र विध्वंशका घटना हुन् । विध्वंशका घटनाका कतिपय दोषीलाई अहिले प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । तर, नरसंहारका नेतृत्वकर्ताहरू खुलेआम छाती फुलाएर हिँड्न थालिसकेका छन् । हातमा कलम बोकेका कलिला बालबालिकाहरूमाथि गोली चलाउन प्रत्यक्ष आदेश दिने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख छवि रिजाल र सम्बन्धित प्रहरी अधिकारीहरूलाई तत्काल पक्राउ गरेर छानविन अगाडि बढाउनुपर्छ ।
साथै तत्कालनीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत व्यक्तिहरू सो घटनाका नैतिक जिम्मेवार हुन् । उनीहरूलाई समेत पक्राउ गरी छानविन अगाडि बढाउन यो सरकारले अलिकति पनि ढिला गर्न हुँदैन । सरकारकै निर्देशनमा कलिला छोराछोरीमाथि टाउको र छातीमा ताकीताकी गोली प्रहार गरियो । यो केवल अपराध मात्र होइन, मानवताको सीमाभन्दा बाहिरको जघन्य अपराध हो ।
तर, विडम्बना के छ भने त्यही आन्दोलनमा बगेका रगतको बलमा बनेको सरकारले आजसम्म मुख्य काममा ध्यान दिनुको सट्टा रातो कार्पेटमा सवारी हुँदै उही पुरानै सत्ताशैली र अनावश्यक ढर्रा अपनाउँदै ठिक्क भइरहेको देखिन्छ, सत्तासुखमा रमाउने काम मात्रै गरिरहेको देखिन्छ । सरकार गठन भएको नौ दिन बितिसक्दाप नि नरसंहार गर्ने अपराधीहरू छाती फुलाएर हिँडिरहनुले कसैको पनि मनमा शान्ति मिलेको छैन ।
निजी सम्पत्ति चोर्नेहरूले त चोरेको सामानसम्म बेचिसके, तर निर्दोष नागरिकको ज्यान लिनेहरूको फैसलामा भने सरकार पूर्ण मौन देखिन्छ । यो जेन्जी मात्र होइन आम नेपाली कसैलाई पनि स्वीकार्य हुन सक्दैन, सरकारले हेक्का राख्न जरुरी छ । यसरी सरकार हराउने, अपराधीहरू खुलेआम उन्मुक्ति पाएर हिँडिरहने र जनता असुरक्षित भएर बाँचिरहनुपर्ने अवस्थाको अन्त्य गरिँदैन भने सरकारमाथि प्रश्च चिह्न उठ्छ मात्र होइन जनताले विकल्प सोच्न पुन: बाध्य हुने छन् ।
FACEBOOK COMMENTS