काठमाडौं । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध जेन्जीहरूले गरेको आन्दोलनपछि खुलेको शेयर बजारमा आज उच्च अङ्कको गिरावट आएको छ ।
जेन्जी आन्दोलनको बलमा अन्तरिम सरकार बनेपछि आज (असोज २ गते) पहिलोपटक खुलेको बजारमा नियमित बजार खुलेको २ मिनेटमै ४% ले गिरावट आएका २० मिनेटका लागि पहिलो सर्किट ब्रेकर लागेको थियो ।
त्यसपछि २० मेनेटपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा एक मिनेटमै थप एक प्रतिशत घटेर पाँच प्रतिशत पुगेपछि अहिले दोस्रोपटक सर्किट ब्रेकर लागेको छ र ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
बजारको मनस्थिति हेर्दा अब ४० मिनेटपछि खुल्ने बजारले बाटो मोड्ने सङ्केत न्यून छ । जसका कारण आजका लागि पूरै कारोबार बन्द हुनसक्ने सम्भावना अत्यधिक छ । किनकी तेस्रो पटक ६% ले घट्दा वा बढ्दा त्यस दिनका लागि पूरै कारोबार बन्द हुने व्यवस्था छ ।
किन लाग्छ सर्किट ?
बजारमा सकारात्मक प्रभाव पर्दा पोजेटिभ र नकारात्मक प्रभाव पर्दा नेगेटिभ सर्किट ब्रेक लाग्ने गर्दछ । शेयर बजार आफैंमा अस्थिर हुन्छ । यसको प्रवृत्ति नै गतिशील हुने भएकाले यो कहिलेकाहीँ एकोहोरो बढिरहने वा घटिरहने क्रममा अघि बढ्छ ।
यस्तो अवस्थामा बजार अस्वाभाविक हुन पुग्दछ । जसले गर्दा लगानीकर्तालाई धेरै नाफा वा घाटा हुने सम्भावना हुन्छ । त्यसैले, लगानीकर्तालाई एकैपटकमा धेरै फाइदा वा घाटा नपुगोस् भनेर सम्बन्धित नियामक निकायले निश्चित प्रतिशतको घटबढपछि कारोबार स्थगन गर्ने कानुनी व्यवस्था गरेको हुन्छ । जसलाई सर्किट ब्रेकर (सर्किट ब्रेक) भन्ने गरिन्छ । यो सकारात्मक (पोजेटिभ) र नकारात्मक (नेगेटिभ) दुवै किसिमको हुने गर्दछ ।
के–के छन् व्यवस्था ?
अन्तर्राष्ट्रिय अभ्यास र बजारको आवश्यकता अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ चैत १९ देखि शेयर बजारमा सर्किटसम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा तीन पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था गरिएको छ ।
यस व्यवस्था अनुसार कारोबार दिनमा बजार खुलेको पहिलो १ घण्टा (११ देखि १२ बजेसम्म) भित्र नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने पहिलो सर्किट ब्रेक लाग्दछ । पहिलो सर्किटपछि २० मिनेटका लागि कारोबार स्थगन गरिन्छ । जसलाई प्राविधिक भाषामा ‘मार्केट हल्ट’ भनिन्छ । जसले मार्केटलाई कुलडाउन गराउनमा सहयोग पुग्छ भन्ने मान्यता राखिएको हुन्छ ।
यसैगरी, दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) वा पहिलो सर्किट ब्रेकर पुन: कारोबार सुरू भएपछि नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटे दोस्रो सर्किट ब्रेक लाग्छ । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द हुन्छ ।
दोस्रो सर्किटपछि पनि सूचक एकोहोरो घट्ने वा बढ्ने क्रम निरन्तर रह्यो भने सो दिनका लागि तेस्रो पटक सर्किट लगाई कारोबार पूर्ण बन्द गरिन्छ । अर्थात् दोस्रो सर्किटपछि काराबार सुरू भएको वा बजार खुलेको तेस्रो घण्टाभित्र (१ देखि ३ बजेसम्मको बीचमा) नेप्से परिसूचक ६ प्रतिशतले घट्यो/बढ्यो भने तेस्रो सर्किट ब्रेक लाग्छ । तेस्रो सर्किट ब्रेक लागेपछि सो दिनको बाँकी अवधिका कारोबार पूर्ण रूपमा बन्द गरिन्छ ।
यो व्यवस्था हेर्दा ४० मिनेटपछि खुल्ने आजको बजार ६% मा पुगेर बन्द हुने सम्भावना अधिक देखिन्छ ।
यो पनि पढ्नुहोस्–
जेन्जीले दलाल र भ्रष्टाचारीलाई बढारेपछि शेयरबजारमा नयाँ बिहानीको आशा
FACEBOOK COMMENTS