काठमाडौं । गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरेका थिए ।
मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितीको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।
गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनस्र्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त
रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताए ।
नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।
प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उनले बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताए ।
प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको
उल्लेख गर्दै हाल चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवम् विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताए ।
FACEBOOK COMMENTS