ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै प्रस्तुत गरेको केन्द्रीय महाधिवेशन कार्यतालिकाबारे छलफल जारी रहेको जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई बैठकको बारेमा जानकारी दिँदै डा.महतले दुवै प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको बताए । उनले भने, “निर्वाचन अगाडि महाधिवेशन गर्न सक्ने तर्कसहित महामन्त्रीले एउटा प्रस्ताव पेस गर्नुभएको छ, सहमहामन्त्रीले निर्वाचनपछि महाधिवेशन गर्नेगरी अर्को प्रस्ताव राख्नुभएको छ, महामन्त्री र सहमहामन्त्रीले व्यक्तिगत रुपमा पेस गरेर छलफलमा आएको प्रस्ताव बाहेक अरुले पनि फरक मिति प्रस्ताव गर्न सक्छन्, छलफल जारी छ ।”
प्रवक्ता महले सङ्कटको समयमा मतभेद गरेर तिक्तता बढाउन नहुने बताउँदै संसद् पुनःस्थापना हुन्छ भनेर बस्नेभन्दा पनि निर्वाचन हुन्छ भनेर तयारी जारी राख्नुपर्नेमा जोड दिए ।
पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरू कृष्णप्रसाद सिटौला, डा चन्द्रकान्त भण्डारी, डा रणबहादुर रावल, कर्णबहादुर बुढा, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राख्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको जारी केन्द्रीय समिति बैठक बुधबार बिहान ११ः३० बजे बस्नेगरी आजको बैठक स्थगित भएको मुख्यसचिव पौडेलले जानकारी गराए ।

FACEBOOK COMMENTS