काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई मनोनयन गर्ने निर्णय गरेको छ । पोखरेल आजै रास्वपा प्रवेश गरेका थिए ।
प्रवक्ता मनिष झाका अनुसार बैठकले आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा संवाद समितिको तर्फबाट हालसम्म भएका प्रगतिहरू ब्रिफिङ भएको छ भने परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाई गरिरहेको र यसबाट छिट्टै आशा लाग्दा उपलब्धिहरू हुने छलफल गरेको प्रवक्ता झाले बताएका छन् ।
साथै विवेकशील साझा पार्टीको तर्फबाट पार्टी एकताका लागि भएको निर्णयको स्वागत गर्दै सो सम्बन्धमा पार्टी एकता घोषणा कार्यक्रम सहितको छलफल गर्न आजै बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने निर्णय गरेको छ । त्यस्तै रास्वपाले कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरु प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सम्मिलित उम्मेदवार छनोट अडिट समिति गठन गरेको छ ।
२- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ । रोमाञ्चक खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । विराटनगरको जितमा बसिर अहमदले अविजित ६२ रनको शानदार पारी खेलेका थिए । त्यस्तै नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हीजलेटले १६ रन बनाएका थिए । त्यस्तै कर्णालीका सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिएका थिए भने पवन सराफ, नन्दन यादव, विलियम बोसिस्टोले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । यो जितपछि विराटनगरको ५ खेलमा ८ अंक भएको छ भने कर्णालीले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

३- बंगलादेशी राजनीतिमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक, बीएनपी प्रमुख खालिदा जियाको स्वास्थ्यमा अचानक बिग्रेको छ । पार्टीका नेताहरूले ८० वर्षीया पूर्व प्रधानमन्त्री जियाको अवस्था गम्भीर रहेको र डाक्टरहरूले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले खालिदा जियालाई छातीमा संक्रमण भएपछि आइतबार राति अस्पतालमा भर्ना गरिएको थियो जसले उनको मुटु र फोक्सोमा गम्भीर असर पारेको छ । डाक्टरहरूले शुक्रबार राति उनको अवस्था गम्भीर घोषणा गरेका छन् । खालिदा जिया विगत धेरै वर्षदेखि धेरै गम्भीर रोगहरूसँग लड्दै आएकी छिन् । उनी लामो समयदेखि कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित छिन् ।

उनको उमेर र दीर्घकालीन रोगहरूले यो संक्रमणलाई अझ खतरनाक बनाएको छ । उनका जेठा छोरा तथा बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान २००८ देखि लन्डनमा बस्दै आएका छन् । उनका कान्छा छोरा अराफत रहमानको २०२५ मा हृदयघातका कारण मृत्यु भएको थियो । परिवारका अधिकांश सदस्यहरू देश बाहिर भएकाले हेरचाहको जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वले गरिरहेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनपछि अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतन पछि, बीएनपी राजनीतिक रूपमा अग्रणीको रूपमा देखा परेको छ । यस वर्षको मे महिनामा, खालिदा जिया लन्डनमा चार महिनाको उपचारपछि देश फर्किइन् ।

४- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९औं प्राज्ञ सभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ. व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ ।
सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजारको वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ । आ. व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याइएका विषयहरुमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।
४९औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।सो अवसरमा प्रधानमन्त्री कार्कीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गरेकी थिइन् । प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए । प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरेका थिए । प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा. डा. विजया पन्तले गरेका थिए ।
५- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ । शुक्रबार राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए । घिसिङको चार बर्षेकार्यकाल आजदेखि सकिदैछ । घिसिङलाई तत्कालिन मन्त्रिपरिषदले २०७८ मङ्सिर १३ गते नियुक्त गरेको थियो ।
६- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् । आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए ।
प्रचण्डले भने- हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।’ प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार गरेर एकैठाउमा ध्रुविकृत हुन आव्हान गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे ।
७- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ । मन्त्रालयले भनेको छ- ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिन २३औं वार्षिक भारत-रूस शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।’
यस भ्रमणको क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएका छन् र उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने तालिका रहेको छ । यो भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जानकरी दिएको छ । दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरिने बताइएको छ । पुटिनको भारतको अन्तिम भ्रमण डिसेम्बर २०२१ मा भएको थियो । यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका छन् ।
८- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् । बाढीका कारण त्यस क्षेत्रका सडक एवमु पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका हुन् ।
गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ ।
बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको उल्लेख गरे ।
९- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ । काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो । चितवनका लागि देव खनाल र रवि भोपाराले २१-२१ रन बनाएका थिए भने सोहेल तनवीरले १८ रन बनाएको थियो । त्यस्तै काठमाडौँका बलर रशिद खानले ३ विकेट लिएका थिए भने करण केसी, मिलिन्द कुमार र शाहब आलमले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो । त्यस्तै काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए । यो जितपछि काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने चितवनले ४ खेलमा २ खेल र २ हार बेहोरेको छ ।
१०- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । सो क्रममा नेपाली सेनाले प्रधानमन्त्री कार्कीलाई हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो भने निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेकी छन् ।
निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्नु नहुने र एक जना पनि घाइते हुन नहुने भन्दै यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिएकी थिइन् ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न समेत उनले निर्देशन दिएकी छन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।
११- गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्म एक करोड १४ लाख भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परेका ७४४ प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको हो । जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव ४ करोड १४ लाखमध्ये करिव १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।त्यस्तै मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु नभएको प्राधिकरणले जनाएको छ ।
१२- विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ र बेपत्ताको यकिन संख्या अझै स्पष्ट रहेको छैन । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ । बुधबार भएको आगलागीमा अहिले पनि कैयौं फ्ल्याटमा आगो बलिरहेको बताइएको छ । आगलागीमा ७९ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।
केही निर्माण कार्य भइरहेको थियो र भवन वरिपरि बाँसको मचान खडा गरिएको थियो । यसले गर्दा आगो द्रुत गतिमा फैलिएको बताइएको छ । प्रहरी अनुसन्धानले आवासीय भवनहरूमा प्रयोग हुने सुरक्षा जाली, वाटरप्रुफ क्यानभास र प्लास्टिकका पानाहरूले पनि ब्लकभरि आगो द्रुत गतिमा फैलिन योगदान पुर्याएको खुलासा गरेको छ । यसका साथै, झ्यालहरू बन्द गर्न प्रयोग गरिने अत्यधिक ज्वलनशील पोलियुरेथेन फोमले पनि आगो फैलिनमा योगदान पुर्याएको पाइएको छ । प्रहरीले आगलागीको सम्बन्धमा निर्माण कम्पनीका निर्देशक र परामर्शदाता सहित तीन जनालाई पक्राउ गरेको छ ।
अधिकारीहरूले ठूलो आगलागीबाट प्रभावित हङकङ परिसर वाङ फुक कोर्टको मर्मतसम्भारसँग सम्बन्धित “सम्भावित भ्रष्टाचार” को अनुसन्धान गरिरहेका छन् । हङकङको वैधानिक भ्रष्टाचार विरोधी निकाय, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगले यस विषयमा उल्लेखनीय सार्वजनिक चासोलाई ध्यानमा राख्दै अनुसन्धान गर्न कार्यदल गठन गरेको जानकारी दिएको छ । हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीमा प्रभावित प्रत्येक घरपरिवारलाई प्रारम्भिक राहतस्वरूप १० हजार हङकङ डलर दिने घोषणा गरेका छन् ।
१३- श्रीलंकामा भारी वर्षाका कारण ठूलो बाढी र पहिरो गएको छ, जसमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यो हालैका वर्षहरूमा देशको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित प्रकोपहरू मध्ये एक हो । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार, चिया बगान जिल्ला बदुल्लामा राति पहिरोमा २१ जनाको मृत्यु भएको छ ।
बाढी प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको केन्द्रले जानकारी दिएको छ । श्रीलंकामा शुक्रबार चक्रवात दिटवाहा यसको पूर्वी तटमा पुग्ने पूर्वानुमान रहेकाले यसको तयारी गरेको जानएको छ । दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनको रूपमा सुरु भयोर पछि यो द्रुत गतिमा चक्रवातमा परिणत भएको बताइएको छ ।
१४- अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको जानकारी दिएका हुन् । उनले आक्रमणमा घाइते भएका अर्का राष्ट्रिय गार्ड सदस्य २४ वर्षीय एन्ड्रयु वुल्फ आफ्नो जीवनको लागि लडिरहेको बताएका छन् । बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्ड सदस्यमाथि एम्बुस प्रहार गरिएको थियो । प्रहरीले घटनाको सम्बन्धमा अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।
१५- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख दाबी रकममध्ये करिव ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख दाबी रकममध्ये करिव ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ ।
१६- नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ । नोट छपाईका लागि चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पोरेसन, बेजिङले एक करोड ६९ लाख ८५ हजार डलरको करार सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्था बमोजिम सो ठेक्का सम्झौताको जानकारी दिएको जनाएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।
१८- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी युद्ध अन्त्य गर्ने प्रमुख सर्तहरू दोहोर्याएका छन् । पुटिनले आफुहरुले दाबी गरेको क्षेत्रहरूबाट युक्रेनले आफ्नो सेना फिर्ता गरेपछि मात्र रूसले युद्ध रोक्ने स्पष्ट गरेका छन् । पुटिनले लामो समयदेखि आफुले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गर्दै आएका छन् । यसमा २०१४ मा कब्जा गरिएको क्रिमिया र पूर्वी डोनबास क्षेत्र समावेश छन्, जसमध्ये धेरैजसो अहिले रूसी नियन्त्रणमा छन् ।
युक्रेनले डोनबास छोड्न निरन्तर अस्वीकार गरेको छ । पुटिनको भाषणपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युद्धलाई साँच्चै अन्त्य गर्ने प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । किर्गिस्तानको भ्रमणको क्रममा पत्रकारहरूसँग कुरा गर्दै, पुटिनले युक्रेनलाई ‘अन्तिम युक्रेनीसम्म लड्न’ चाहेको आरोप लगाए । यसअघि, जेलेन्स्कीले रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न अमेरिकी शान्ति सम्झौतामा सहमत भएको बताइएका थियो । गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८-बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए, जुन गत सप्ताहन्तमा जेनेभामा छलफल र अपडेट गरिएको थियो । यसैबीच पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफ सहितको एक अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ताको सुरुमा रूस आइपुग्ने बताएका छन् ।
१९- अमेरिकाले १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने भएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रिन कार्डहरूको पूर्ण र कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएको बताएका छन् ।
ग्रीन कार्डको पुन: छानबिन गरिने देशमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियरा लियोन, तुर्कमेनिस्तान र टोगो रहेका छन् । बुधबार वाशिंगटन, डीसीमा दुई राष्ट्रिय गार्डहरूमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनले यो घोषणा गरेको हो । यस घटनामा गोली लागेका एक राष्ट्रिय गार्ड सदस्यको मृत्यु भएको छ । संदिग्ध रहमानुल्लाह लकनवाल, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०२१ मा अमेरिका आएको खुलेको छ ।
२०- पोर्चुगलले फिफा यु-१७ विश्वकप फुटबलको उपाधि जितेको छ । गएराती कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यू-१७ विश्वकपको उपाधि जितेको हो । पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । बिनो मकाइसको प्रशिक्षकत्वमा रहेको पोर्चुगल यु-१७ टोलीले पहिलो पटक युवा प्रतियोगिता जितेपछि कतारमा २०२५ फिफा यु-१७ विश्वकप पोर्चुगिज फुटबलमा नयाँ इतिहास बनाएको छ ।
पोर्चुगलले ब्राजिलमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेर फाइनलमा पुगेको थियो भने अस्ट्रियाले इटालीलाई २-० ले हराएर फाइनल पुगेको थियो । पोर्चुगलले पहिलो पटक यू-१७ विश्वकप जितेको हो । फिफा यू-१७ विश्वकपको उपाधि सबै भन्दा बढी नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्याण्ड र इङल्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।
FACEBOOK COMMENTS