काठमाडौ । कमलादीमा अन्तर्राष्ट्रिय चेनको नयाँ होटल मोक्सी काठमाडौं सञ्चालनमा आएको छ ।
विश्वप्रसिद्ध मेरियट ग्रुप अन्तर्गतको ‘मोक्सी’ ब्रान्डको यो होटल नेपालमै पहिलो पटक भित्रिएको हो। उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मोक्सी ब्रान्ड भित्र्याएका हुन् । मोक्सी युरोप र अमेरिका फैलिसकेको होटल ब्रान्ड हो ।
मेरियट ग्रुप अन्तर्गतको मोक्सी ब्रान्ड तुलनात्मक रूपमा किफायती र रमाइलो अनुभवका लागि परिचित छ । यो होटल मुख्यतया नयाँ पुस्ता, झोला बोकेर स्वतन्त्र रूपमा यात्रा गर्ने घुमन्ते र डिजिटल यात्रुहरूका लागि हो। औपचारिक सेवाभन्दा रमाइलो, रंगी बिरंगी सजावट, साझा ठाउँमा बसेर सामाजिक घुलमिलको अनुभव मोक्सीको विशेषता हो । ‘नेपालमा पछिल्ला वर्षमा धेरै होटल खुलेका छन्।
तर युवा, रमाइलो मन पराउनेका लागि र अन्तर्राष्ट्रिय सेवा दिने स्तरको होटल होटल थिएन। त्यही सोचेर मोक्सी ल्याएका हौं,’ अग्रवालले भने । मोक्सी विश्वका २९ देशमा फैलिएको ब्रान्ड हो। काठमाडौंमा खुलेको मोक्सी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै ढाँचामा सजिएको छ। यसका लागि अग्रवालले २ अर्ब बढी लगानी गरेका छन् ।
दुई रोपनी जग्गामा बनेको मोक्सीमा १०१ वटा कोठा छन्। अधिकांश कोठा डिलक्स स्ट्यान्डर्डका छन्।
स्विमिङ पुल, पुल बार, काठमाडौंको दृश्य देखिने १० औं तला, मेक्सिकन रेस्टुरेन्ट लगायत सुविधा छन् । चारे तारे होटल मोक्सीको उद्घाटनका क्रममा होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले आगामी ५ वर्षभित्र काठमाडौं उपत्यकामा जेडब्लु म्यारिअट सञ्चालनमा ल्याउने घोषणा गरे । १० वर्षमा तीनवटा तारे होटल सञ्चालनमा ल्याएको एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले ५ वर्षभित्र ३ सय कोठाको म्यारिअटको प्रिमियम ब्रान्ड ‘जेडब्ल्यू म्यारिअट’ ल्याउने घोषणा गरेको हो ।




FACEBOOK COMMENTS