काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आत्मआलोचना र प्रतिवेदनका नाममा आफूमाथि प्रहार गर्ने प्रयास गरेको भन्दै ओलीले कटाक्ष गरेका हुन् । उनले अरुको एजेण्डा बोकेर आफूमाथि प्रयास गर्ने प्रयास भएको समेत बताए ।
उनले भने, ’आत्मआलोचनाका नाममा अरुका एजेन्डा बोकेर हिँडेका छन् । हामी त्यही एजेन्डा बोकेर हिँडेका छौँ । तत्कालीन प्रधानमन्त्री (म) लाई कारबाही गर्नु पर्यो भनेर माग गर्ने ?’ उनले आफूलाई कारबाहीको माग गर्ने कुरा विपक्षी पार्टी र मिडियाले समेत भन्न नसकेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेटेको भन्दै रोष प्रकट गरेको एक नेताले बताए ।
पोखरेलले सार्वजनिक रुपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने बताएका थिए । उनले कोही दोषी भए कारबाहीको भागीदार हुनुपर्ने समेत बताउँदै आएका छन् । तर ओलीले आन्तरिक असन्तुष्टिका बीच पनि आफू भाग्यमानी नेता भएको दाबी गर्न बैठकमा भ्याएको ती नेताले बताए ।
FACEBOOK COMMENTS