काठमाडौं । इजरायले हमासका दोस्रो कमान्डर राएद सईद मारेको दाबी गरेको छ । इजरायली सेनाले शनिबार गाजा शहरमा एउटा कारलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, हमासले अहिलेसम्म आधिकारिक रूपमा राएद सईदको मृत्युको पुष्टि गरेको छैन ।
राएद हमास अल–कासिम ब्रिगेडका प्रमुख कमाण्डर थिए । अल जजीराका अनुसार, सईदले हमासको हतियार उत्पादन नेटवर्कको नेतृत्व गर्थे र अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको षड्यन्त्रमा संलग्न थिए ।हमासले भने राएद गाजा शहर बटालियनका पूर्व प्रमुख भएको बताएको छ ।
इजरायलले युद्धविरामको बावजुद सईदले हमासको क्षमतालाई पुन: बलियो बनाउन र हतियार निर्माण गर्न काम गरिरहेको आरोप लगाएको छ, जुन सम्झौताको उल्लङ्घन हो । हमासले इजरायली सैनिकमाथि आक्रमण गरेपछि यो आक्रमण भएको हो । आक्रमणमा दुई इजरायली सैनिक घाइते भएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले पछि सईदलाई लक्षित गर्ने आदेश दिएका थिए ।इजरायल डिफेन्स फोर्सेसले सईद गाजा शहरको पश्चिमी भागमा यात्रा गरिरहेको वास्तविक समयको गुप्तचर सूचना प्राप्त भएपछि उनीमाथि आक्रमण गरेको बताएको छ ।
अरब गुप्तचर अधिकारीहरूका अनुसार, रईद विगत दुई वर्षदेखि गाजा शहर मुनि रहेको हमासको सुरुङमा लुकेर बसेका थिए । हमासले इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ। अर्कोतर्फ, हमासले सईदको मृत्युको पुष्टि गरेको छैन ।

संगठनले गाजा शहरको पश्चिममा रहेको नाबुलसी जंक्शन नजिकै एक इजरायली ड्रोनले एक नागरिक सवारी साधनलाई निशाना बनाएको बताएको छ । गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार, आक्रमणमा पाँच जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन् ।

FACEBOOK COMMENTS