काठमाडौँ । इन्डोनेसियाका २८ वर्षीय दायाँ हाते द्रुत बलर गेडे प्रियन्दनाले अन्तर्राष्ट्रिय टी–२० खेलमा एक ओभरमा पाँच विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् ।
मंगलबार बालीमा कम्बोडियाविरुद्धको पहिलो टी–२० खेलमा प्रियन्दनाले एकै ओभरमा ५ विकेट लिएका थिए ।
इन्डोनेसियाले दिएको १६८ रनको पछ्याउने क्रममा कम्बोडियाले १०६ रन बनाएर ५ विकेट गुमाएको अवस्था रहेको थियो । प्रियन्दनाले खेलको १६औं ओभर बलिङ गर्दै पहिलो तीन बलमा लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि चौथो बल डट भएको थियो ।
पाँचौं बलमा उनले अर्को विकेट लिए भने छैटौं बल ह्वाइट फालेका थिए । त्यसपछि अन्तिम बलमा अर्को विकेट लिएर कम्बोडिया १०७ रनमा अल आउट भएको थियो ।
अन्तर्राष्ट्रिय खेलमा कुनै बलरले एक ओभरमा पाँच विकेट लिएको यो पहिलो पटक हो, तर आजभन्दा पहिले कुनै बलरले एक ओभरमा चार विकेट भने १४ पटक लिएका छन् । यी मध्ये सबैभन्दा प्रसिद्ध थियो जब श्रीलंकाका लसिथ मालिंगाले २०१९ मा न्युजिल्याण्डविरुद्धको टी–२० को तेस्रो ओभरमा चार बलमा चार विकेट लिएका थिए ।
FACEBOOK COMMENTS