काठमाडौं । तीन वटा कम्पनीले आजका लागि बार्षिक साधारणसभाको मिति तय गरेका छन् । जसमा घोराही सिमेन्ट, लक्ष्मी सनराइज बैंक र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।
यी कम्पनीहरुले लाभांश तथा हकप्रद प्रस्ताव सहितका प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन् । घोराही सिमेन्ट इन्डष्ट्रीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै १ः०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकले पनि आजका लागि सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सभा पनि आज नै रहेको छ । कम्पनीले मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।

कम्पनीले सभामा १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सेयरधनीलाई लाभांश भने छैन ।

FACEBOOK COMMENTS