काठमाडौँ । बंगलादेश टी–२० विश्वकपबाट बाहिरिएको छ । भारतमा नखेल्ने अडानबाट पछि नहटेपछि आइसीसीले बंगलादेशलाई विश्वकपबाट बाहिर राख्दै स्कटल्याण्डलाई विश्वकपमा समावेश गरेको छ ।
आइसीसीले बुधबार बंगलादेशलाई दिएको २४ घण्टाको समय शुक्रबार सकिएको थियो । आइसीसीले बुधबार नै बंगलादेश भारत खेल्न नआएमा उसलाई विश्वकपबाट बाहिर राख्ने र उसको स्थानमा स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरेको थियो ।
आइसीसीले आफ्नो निर्णय बारे बंगलादेश क्रिकेट बोर्डलाई शुक्रबारनै इमेलमार्फत जानकारी गराएको भारतीय समाचार एजेन्सी पीटिआईले उल्लेख गरेको छ ।
अब टी– २० विश्वकपमा समूह सी मा बंगलादेशको स्थानमा स्कटल्याण्ड आएको छ । अब स्कटल्याण्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने छ ।
FACEBOOK COMMENTS