काठमाडौं । नेपाली सेफ राहुलबाबु श्रेष्ठ युएईमा आयोजित एक प्रतियोगितामा अब्बल ठहरिएर पुरस्कृत भएका छन् ।
द गोल्ट एन्ड मिलो २०२६ अवार्ड समारोहमा व्यक्तितर्फ श्रेष्ठसहित पाँचजना सेफहरु पुरस्कृत भएका हुन् । उनीहरुलाई युएईको प्रतिष्ठित होटल एटलान्टिस द रोयलमा २ फेब्रुअरी २०२६ मा आयोजित एक समारोहमा पुरस्कृत गरिएको हो ।
श्रेष्ठले ‘फ्युचर ग्रेट अफ द इयर’ विधाको सर्टलिस्टमा परेकामध्ये चार सहभागीलाई उछिन्दै अवार्ड हात पारेका हुन् । यो विधाको सर्टलिस्टमा श्रेष्ठ सहित पाँचजना प्रतियोगी थिए । श्रेष्ठ युएईको टु मिसेलिन स्टार रेस्टुरेन्ट ‘रो अन ४५’ मा हेड सेफको रुपमा कार्यरत छन् ।
उक्त समारोहमा १२ वटा रेस्टुरेन्टहरु पनि विभिन्न विधामा पुरस्कृत भएका थिए । श्रेष्ठ विश्वका सर्वाधिक प्रतिष्ठित फाइन डाइनिङ नामहरूको सूचीमा समेटिएका सेफ हुन् । उनी मिसेलिन गाइड २०२५ मा लगातार दोस्रो वर्ष दुई मिसेलिन स्टार कायम राख्न सफल सेफ पनि हुन् । उनको सफलताले विश्वस्तरीय पाककला क्षेत्रमा उच्चतम स्तरको उत्कृष्टता र नवप्रवर्तन कायम राख्न सक्ने क्षमता प्रमाणित गरेको छ ।
बेलायतको युनिभर्सिटी अफ इस्ट एंग्लियामा अध्ययन गरेका उनी नेपालको प्रतिष्ठित व्यावसायिक घराना चितवन को–ई समूहका निर्देशक राजेशबाबु श्रेष्ठका छोरा हुन् । परिवारका अन्य सदस्यभन्दा फरक पाककला क्षेत्रको करिअर रोजेका राहुलले विश्वविद्यालयको अध्ययन सकाएपछि ले म्यान्वार ओ क्वा सैजों र मार्कस वेयरिङको ‘द स्क्वायर’ जस्ता प्रसिद्ध मिसेलिन–स्टार प्राप्त भान्साहरूमा प्रशिक्षण लिए । त्यसपछि लन्डन, सिंगापुर र नर्वेका ख्यातिप्राप्त रेस्टुरेन्ट हुँदै उनी युएईको ‘रो अन ४५’ मा पुगेका हुन् ।

FACEBOOK COMMENTS