काठमाडौं । गायिका तथा मोडल ज्योति मगरले मुलुकमा राष्ट्रवादीहरू थुप्रै देखे पनि राष्ट्रियता र राष्ट्रप्रेम नदेखेको बताएकी छिन् ।
पछिल्लो समय राजनीतिक विषयवस्तुहरूमा तीखो टिप्पणी गरी थप चर्चा कमाइरहेकी मगरले आज पुन: राष्ट्रवादी, राष्ट्रियता र राष्ट्रप्रेमको बारेमा टिप्पणी गरेकी छिन् । त्यस क्रममा उनले राष्ट्रिय झण्डा ओढेर राजनीति गरेकोदेखि देश जलाएकोसम्म देखेको चर्चा गर्दै राष्ट्रियता र राष्ट्रप्रेम कतै नदेखिएको बताएकी हुन् ।
यस्तै, उनले यसपालीको आन्दोलन र चुनाव कसले जित्यो र कसले जित्दैछ भन्दा पनि देशले हार्ने निश्चित हरेको समेत बताएकी छिन् ।
उनले फेसबुकमा लेख्दै भनेकी छिन्–
मैले जे देखेँ…
नेपाल को झण्डा ओढेर राजनीति गरेको देखेँ, नेपालको झन्डा ओढेर देश छोड्दै गरेको देखेँ, नेपालको झण्डा ओढेर नागरिकता त्यागेको देखेँ, देशको झण्डा ओढेर देशनै खत्तम छ भन्दै देशलाई गाली गरेको देखेँ, देशको झण्डा ओढेर एक पटक देश–विदेशीलाई दियो भने भारतमा ब्रिटिश ले विकास गरे जस्तै विकास गर्दिन्छन् भनेको पनि देखेँ । सबै भन्दा दर्द त त्यति बेला भयो जब नेपालको झण्डा ओढेर नेपाल जलाएको देखेँ, देशको झण्डा ओढेर नेपाल जलेको खुसियालीमा भिक्ट्री पोजमा फोटो खिचेको देखेँ…, यति धेरै झण्डा ओढ्ने राष्ट्रवादीहरू देखेँ, तर राष्ट्रियता मात्रै देखिनँ, राष्ट्रप्रेम मात्रै देखिनँ… । मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झन्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारपूर्वक टुलु–टुलु हेर्नू मेरो आज–भोलिको दिनचर्या हो… । यसपालीको आन्दोलन र चुनाव कसले जित्यो कसले जित्छ त्यो थाहा छैन तर देशले हार्छ त्यो ग्यारेन्टी हो… ।



FACEBOOK COMMENTS