काठमाडौं । आम जनता पार्टी (आजपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहित अध्यक्ष प्रभु साहले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिवद्धता जनाएको छ ।
घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ । साथै ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने, कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।
पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ । आजपाले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिवद्धता जनाएको छ । मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ ।
त्यस्तै नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी ९सीड मनी० उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पती जफत गरी कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना समेत पार्टीले अघि सारेको छ ।

आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई भत्ता दिने घोषणा गरेको छ ।


FACEBOOK COMMENTS