काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कर्णाली प्रदेशको एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्ला निर्वाचन क्षेत्र चर्चामा रहेको छ । यस क्षेत्रमा नेकपा राप्रपाका नेता ज्ञानेन्द्र शाही उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
एक मात्र संसदीय निर्वाचन क्षेत्र रहेको जुम्लामा चन्दननाथ नगरपालिकासहित आठ स्थानीय तह रहेका छन् । जुम्लामा चन्दननाथ नगर पालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपनि गाउँपालिका र पातारासी गाउँपालिका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार जुम्लामा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७१ हजार ७३९ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १०८ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को आम निर्वाचनमा जुम्लाबाट राप्रपाका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) विजयी भएका थिए । उनले २२ हजार ८१९ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ११ हजार ९५९ मत प्राप्त गरेकी थिइन् भने एमालेका रतन नाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ मा समानुपातिकतर्फ जुम्लामा सबैभन्दा बढी नेकपा एमालेले १० हजार ५४८ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १० हजार ४७६ मत पाएको थियो । त्यसैगरी नेकपा माओवादी केन्द्रले ८ हजार ९६० र राप्रपाले ५ हजार ७९६ मत प्राप्त गरेको थियो ।

उम्मेदवार- २०८२

यस पटक जुम्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १० जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा राप्रपाका ज्ञानेन्द्र शाही फेरी एक पटक उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट शान्ति लाल महत, नेपाली काँग्रेसबाट दिप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट विनिता कठायत उम्मेदवार बनेका छन् ।

निष्कर्ष

जुम्लामा अघिल्लो निर्वाचनमा समानुपातिकमा दोस्रो धेरै मत प्राप्त गरेको काँग्रेसको उम्मेदवार थिएन । तर यस पटक दलहरुबीच गठनबन्धन नरहेकाले चुनावी अंक गणित पनि फरक हुने आंकलन गरिएको छ । निवर्तमान सांसद ज्ञानेन्द्र शाही बलियो उम्मेदवार भएपनि यस पटक उनलाई अघिल्लो पटकजस्तो सहज हुने देखिदैन । जुम्लामा यस पटक प्रमुख पाँच दलबीच नै प्रतिष्पर्धा देखिन्छ । राप्रपाको आफ्नो मत कम रहेपनि उम्मेदवार ज्ञानेन्द्र शाहीलाई व्यक्तिगत रुपमा सहयोग र समर्थन गर्नेहरु जुम्लामा रहेका छन् ।
त्यस्तै काँग्रेस, एमाले र नेकपाको मत अघिल्लो चुनावको हेर्दा लगभग समान देखिएको छ । त्यस्तै यस पटक अघिल्लो पटक समानुपातिक सांसद रहेकी रास्वपाकी विनिता कठायतको प्रत्यक्षमा उम्मेदवारीले पनि उनलाई प्रतिष्पर्धामा ल्याएको छ । अब जुम्लामा पाँच दलबीच प्रतिष्पर्धा हुने देखिन्छ ।
यस पटक जित हारको अन्तर कम हुने देखिएकाले जुम्लामा नेपाल मजदुर किसान पार्टी, विप्लव नेतृत्वको नेकपा माओवादी जस्ता दलको भूमिका पनि महत्वपूर्ण हुने देखिएको छ ।
FACEBOOK COMMENTS