काठमाडौँ । अमेरिकी विदेश मन्त्री मारको रुबियोले ईरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् । उनले ईरान अमेरिका, युरोप, मध्यपूर्व क्षेत्र र विश्व शान्तिका लागि खतरा रहेको दाबी गरेका हुन् ।
जर्मनीको म्युनिखमा आयोजित म्युनिख सेक्युरिटी कन्फेरेन्सका क्रममा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।
रुबियोका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्ने क्षमता र इच्छा ईरानले देखाएकाले अमेरिका उक्त क्षेत्रमा आफ्नो सेना कायम राख्न चाहन्छ । उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी देशहरू तथा सैन्य आधारहरू रहेकाले सुरक्षा सन्तुलन कायम राख्न सैन्य उपस्थिती आवश्यक रहेको बताए ।
उनले थपे– ’ईरानको कुनै गल्तीका कारण ठूलो द्वन्द्व नहोस् भन्ने उद्देश्यले अमेरिका सावधानीपूर्वक आफ्नो उपस्थिति कायम राख्न चाहन्छ ।’
यसैबीच उनले डोनाल्ड ट्रम्पको प्राथमिकता ईरानसँग सम्झौता गर्नु रहेको पनि उल्लेख गरे । उनले यस्तो सम्झौता कठिन भए पनि अमेरिका प्रयास जारी राख्ने बताए ।

FACEBOOK COMMENTS