काठमाडौं । काठमाडौंमा एक कार चालकले पैदलयात्रुलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी अभियान थालेको र अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति हाल बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षका पारस बम रहेको र उनलाई नियन्त्रणमा लिइएको बताए ।
अधिकारीले उनी इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको पनि बताए । उनले काठमाडौँको नारायणगोपाल चोकस्थित गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेका भिडियोमा देखिन्छ ।
नारायणगोपाल चोकस्थित सडकखण्डमा बा३च ११०३ नं को निजी जिप चालकले सार्वजनिकस्थलमा पैदलयात्रीलाई हातपात तथा दुव्र्यव्यवहार गरेको भिडियो विभिन्न सामाजिक सञ्जालमा देखिएको थियो । उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

FACEBOOK COMMENTS