काठमाडौँ । काठमाडौँ महानगरले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अब अनधिकृत व्यक्तिको प्रवेश पूर्णरूपमा निषेध गरेको छ ।
महानगरको वातावारण विभागका अनुसार उक्त स्थलमा दैनिक रूपमा २४ स्थानीय तहबाट संकलित फोहरमैलाको अन्तिम व्यवस्थापन हुँदै आएको छ । तर पछिल्लो समय फोहरमैला तथा कवाडी संकलन गर्ने अनधिकृत व्यक्तिहरू र अन्य असम्बन्धित व्यक्तिहरूको प्रवेशका कारण स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको जनाइएको छ ।
ल्यान्डफिल क्षेत्रमा फोहर विसर्जनका क्रममा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर लगायतका भारी सवारी साधन निरन्तर सञ्चालनमा रहने भएकाले अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटनाको सम्भावना उच्च हुने महानगरले जनाएको छ । यही जोखिमलाई ध्यानमा राख्दै २०८२ फागुन ८ गतेदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्णरूपमा रोक लगाइएको हो।
महानगरले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि उक्त क्षेत्रमा प्रवेश नगर्न र नगराउन अनुरोध गरेको छ ।
सूचनाको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । साथै अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित व्यक्तिलाई कानुनी सजाय हुने स्पष्ट गरिएको छ।

FACEBOOK COMMENTS