दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार फागुन ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई स्वागत गर्न भेला भएको भीडका बीच केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको थियो ।
उक्त भिडियोको आधारमा गरिएको अनुसन्धानबाट घटनामा संलग्न रहेको पहिचान भएका तुलसीपुर उपमहानगरपालिका–७, कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई फागुन ८ गते प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।
निर्वाचनको समय नजिकिँदै गर्दा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र संयमित तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्न नेपाल प्रहरीले सम्पूर्ण सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।

FACEBOOK COMMENTS