काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन: १० प्रतिशत विश्वव्यापी शुल्क लगाउने घोषणा गरेका छन् । उनले आजै आदेशमा हस्ताक्षर गरी उक्त शुल्क लागू गर्ने बताएका छन् ।
यसअघि शुक्रबार सर्वोच्च अदालतले ६–३ को बहुमतले दिएको फैसलामा संविधानअनुसार कर तथा आयात शुल्क लगाउने अधिकार केवल संसद (कांग्रेस) लाई मात्र रहेको स्पष्ट पारेको थियो । अदालतको निर्णयलाई कडा शब्दमा आलोचना गर्दै ट्रम्पले उक्त फैसला ’अत्यन्त निराशाजनक’ भएको प्रतिक्रिया दिए । उनले केही न्यायाधीशमाथि लाज लागेको टिप्पणी गर्दै उनीहरूमा देशका लागि सही निर्णय गर्ने साहस नभएको आरोप लगाए ।
ट्रम्पले न्यायाधीशहरूलाई ’कट्टर वामपन्थी शक्तिको प्रभावमा परेको’ आरोपसमेत लगाएका छन् । उनका अनुसार केही न्यायाधीशहरू देशभक्त नभएको र संविधानप्रति वफादार नरहेको दाबी गरेका छन् । उनले फैसलासँग असहमत रहेका तीन जना परम्परावादी न्यायाधीशको भने प्रशंसा गरेका छन् ।
अमेरिका–बेलायत, भारत तथा युरोपेली संघसहित व्यापार सम्झौता गरेका देशहरूले अब नयाँ आदेशअनुसार १० प्रतिशत विश्वव्यापी शुल्क सामना गर्नुपर्ने बताइएको छ । यसअघि तय गरिएका दरहरू लागू नहुने जनाइएको छ ।
अदालतको फैसलापछि उत्पन्न विवादका बीच ट्रम्प प्रशासनले नयाँ निर्णयमार्फत आफ्नो व्यापार नीति पुन: कार्यान्वयनमा ल्याउने संकेत दिएको छ । विश्लेषकहरूका अनुसार यस घटनाक्रमले अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा थप बहस र अनिश्चितता निम्त्याउने सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS