काठमाडौँ । बेलायतको फास्ट–फेशन कम्पनी एएसओएसका सह–संस्थापक क्वेन्टिन ग्रिफिथ्सको थाइल्यान्डको पटाया सहरमा एक आवासीय भवनको १७औँ तलाबाट खसेर मृत्यु भएको छ ।
थाइ प्रहरीका अनुसार घटनास्थलबाट कुनै षड्यन्त्र वा हत्या सम्बन्धी प्रमाण फेला परेको छैन र प्रारम्भिक अनुसन्धानले आत्महत्याको आशंका देखाएको छ ।
प्रहरीका अनुसार फेब्रुअरी ९ मा पटायाको १८ तले अपार्टमेन्ट भवनको बालकनीबाट ग्रिफिथ्स खसेका थिए । उनको शव बालकनी मुनि जमिनमा फेला परेको थियो । अनुसन्धानका क्रममा अपार्टमेन्ट भित्रबाट बन्द अवस्थामा रहेको र जबरजस्ती प्रवेशका कुनै चिन्ह नदेखिएको जनाइएको छ । सिसिटिभी दृश्यमा पनि अन्य कुनै व्यक्ति कोठामा प्रवेश गरेको वा बाहिरिएको विवरण भेटिएको छैन । पोस्टमार्टम प्रतिवेदनमा समेत आक्रमण वा षड्यन्त्रका संकेत नपाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धान अधिकारीहरूले अपार्टमेन्टबाट चलिरहेका कानुनी मुद्दासँग सम्बन्धित कागजातहरू बरामद गरेका छन् । प्रहरीका अनुसार ग्रिफिथ्स आफ्नी पूर्वपतिसँगको कानुनी विवादका कारण तनावमा रहेका थिए । रिपोर्ट अनुसार उनकी दोस्री पत्नी, जो थाइ नागरिक हुन्, उनले दुवैको साझा व्यवसायबाट ६ लाख ७३ हजार अमेरिकी डलरभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाएकी थिइन् ।
गत वर्ष कागजातमा हेरफेर गरी जमिनसम्बन्धी सेयर बिक्री गरेको आरोपमा उनी पक्राउ परेका थिए । पछि रिहा गरिए पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

ग्रिफिथ्सले लन्डनमा निक रोबर्टसन, एन्ड्र्यु रेगन र डेबोरा थोर्पसँग मिलेर एएसओएस स्थापना गरेका थिए । पछि उक्त कम्पनी विश्वव्यापी अनलाइन फेशन बजारका रूपमा विकसित भएको थियो, जहाँ सयौँ ब्रान्ड र आफ्नै लेबलका उत्पादन बिक्री हुन्थे । एक समय कम्पनीको मूल्यांकन ६ अर्ब युरोभन्दा बढी पुगेको थियो भने पछि ८ अर्ब अमेरिकी डलर नाघेको थियो ।

FACEBOOK COMMENTS