काठमाडौं । अमेरिकाले इरानमाथि पुन: नयाँ आर्थिक प्रतिबन्ध घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानका ३० जना व्यक्ति, विभिन्न कम्पनी तथा केही जहाजलाई लक्षित गर्दै प्रतिबन्ध लगाएको जनाएको छ ।
अमेरिकाको आरोप अनुसार ती व्यक्ति र संस्थाहरू इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम, मानवरहित विमान निर्माण तथा प्रतिबन्ध छल्दै गोप्य रूपमा तेल बिक्री गर्ने कार्यमा संलग्न रहेका छन् ।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सम्बन्धी निर्णय सार्वजनिक गरेको हो ।
प्रतिबन्धको सूचीमा इरानले प्रयोग गर्दै आएको भनिएको तथाकथित ’छायाँ जहाज समूह’ अन्तर्गतका पुराना तेल ट्यांकरहरू समेत समावेश गरिएको छ । यी जहाजहरू अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद गोप्य रूपमा तेल निर्यात गर्न प्रयोग हुँदै आएको अमेरिकाको दाबी छ ।

नयाँ प्रतिबन्ध लागू भएसँगै सूचीकृत व्यक्ति तथा कम्पनीहरूले अमेरिकाभित्र रहेका सम्पत्ति, बैंक खाता वा आर्थिक कारोबार प्रयोग गर्न पाउने छैनन् । साथै कुनै पनि अमेरिकी नागरिक वा कम्पनीले उनीहरूसँग व्यापारिक सम्बन्ध राख्न नपाउने व्यवस्था गरिएको छ ।

यद्यपि विश्लेषकहरूले अधिकांश लक्षित पक्षको अमेरिकामा सीमित सम्पत्ति भएकाले यस कदमलाई प्रतीकात्मक दबाबको रूपमा पनि हेरिएको बताएका छन् ।

यसै साता जेनेभामा अमेरिका र इरानबीच परमाणु कार्यक्रमसम्बन्धी वार्ता हुने तयारी रहेको बेला यी प्रतिबन्ध लगाइएको छ । ओमानको मध्यस्थतामा हुने उक्त छलफलमा अमेरिकी प्रतिनिधि स्टिभ विटकफ तथा इरानी अधिकारीहरू सहभागी हुने जनाइएको छ ।

वार्ताअघि अमेरिकाले प्रतिबन्ध घोषणा गर्नु कूटनीतिक दबाब बढाउने रणनीतिका रूपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार विकास गर्न अनुमति नदिइने स्पष्ट पारेका छन् ।

अमेरिकाको भनाइ अनुसार इरानले युरेनियमलाई उच्च स्तरसम्म प्रशोधन गरिसकेको छ, जुन हतियार निर्माणको तह नजिक पुगेको दाबी गरिएको छ । तर इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको बताउँदै आएको छ ।
अमेरिकी प्रशासनले इरानमाथि अधिकतम दबाब कायम राख्ने नीति जारी रहने जनाएको छ । अब हुने वार्ताले दुई देशबीच समझदारी कायम हुन्छ वा तनाव अझ बढ्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ ।
FACEBOOK COMMENTS