काठमाडौँ । इरानको आणविक कार्यक्रम पुनः अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच अमेरिकाले आफ्ना युद्धपोत, लडाकु विमान तथा सैनिक उपस्थितिलाई बलियो बनाएपछि सम्भावित द्वन्द्वको चिन्ता बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै प्रभावकारी सहमति नभए सैन्य विकल्प समेत अपनाउन सकिने चेतावनी दिदै आएका छन् । उनका अनुसार इरानसँग आणविक हतियार पुगेमा मध्यपूर्व मात्र होइन, विश्व सुरक्षामै गम्भीर असर पर्न सक्छ ।
इरानले भने आफूले कहिल्यै आणविक बम निर्माण गर्ने प्रयास नगरेको दाबी गर्दै आएको छ । इरानी नेतृत्वका अनुसार आणविक कार्यक्रम ऊर्जा उत्पादन, चिकित्सा तथा वैज्ञानिक अनुसन्धानजस्ता शान्तिपूर्ण प्रयोजनका लागि मात्रै सञ्चालन गरिएको हो । तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय र पश्चिमी राष्ट्रहरूले इरानको गतिविधिप्रति निरन्तर निगरानी राख्दै आएका छन् ।
सन् २०२५ जुनमा इजरायल र इरानबीच भएको १२ दिन लामो सैन्य तनावका क्रममा इरानका प्रमुख आणविक केन्द्रहरू लक्षित आक्रमणमा परेका थिए । त्यसक्रममा अमेरिकाले पनि इरानका इस्फहानस्थित अनुसन्धान केन्द्र तथा नतांज र फोर्दोमा रहेका युरेनियम प्रशोधन केन्द्रमा हमला गरेको थियो ।
आक्रमणपछि अमेरिकाले ती केन्द्रहरू पूर्ण रूपमा ध्वस्त भएको दाबी गरे पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले संरचनामा ठूलो क्षति पुगेको भए पनि कार्यक्रम पूर्ण रूपमा समाप्त नभएको जनाएको थियो । निकायका महानिर्देशक राफेल ग्रोसीका अनुसार केही समयपछि प्रशोधन गतिविधि पुनः सुरु हुन सक्ने सम्भावना रहेको थियो ।

उपलब्ध विवरणअनुसार आक्रमणअघि इरानसँग करिब ६० प्रतिशतसम्म प्रशोधित ४४० किलो युरेनियम मौज्दात रहेको अनुमान गरिएको थियो । यो स्तर आणविक हतियार निर्माणका लागि आवश्यक ९० प्रतिशत शुद्धताको नजिक मानिन्छ । विज्ञहरूका अनुसार यस्तो सामग्रीलाई थप प्रशोधन गरिए छोटो समयमै हतियारस्तरको युरेनियम तयार गर्न सकिने अवस्था बन्न सक्छ । तर युरेनियम प्रशोधन मात्रै पर्याप्त हुँदैन। वास्तविक आणविक हतियार निर्माण गर्न वारहेड डिजाइन, विस्फोट प्रणाली तथा क्षेप्यास्त्रमार्फत प्रयोग गर्न सकिने प्रविधि आवश्यक पर्ने बताइन्छ। केही सुरक्षा विश्लेषकहरूका अनुसार इरानसँग तत्काल प्रयोगयोग्य आणविक हतियार रहेको प्रमाण भने हालसम्म सार्वजनिक भएको छैन ।

हालै सार्वजनिक भएका उपग्रह तस्बिरहरूले नतान्ज र इस्फहान क्षेत्रमा पुनर्निर्माण तथा सुरक्षात्मक संरचना मजबुत बनाउने काम भइरहेको देखाएका छन् । जमिनमुनि रहेका संरचनाहरू थप सुरक्षित बनाउने प्रयास भइरहेको संकेत पनि देखिएको छ, जसले इरानले आफ्नो आणविक क्षमता जोगाइराख्न खोजेको अनुमान गरिएको छ ।

इरानको आणविक कार्यक्रमको विवाद नयाँ भने होइन । सन् २०१५ मा इरानले विश्वका शक्तिशाली राष्ट्रहरूसँग सम्झौता गर्दै युरेनियम प्रशोधन सीमित गर्न सहमति जनाएको थियो । त्यसबापत इरानमाथिका आर्थिक प्रतिबन्ध हटाइएको थियो । तर सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट अलग भएपछि तनाव पुनः बढ्न थालेको हो । त्यसपछि इरानले सम्झौताका केही सर्त उल्लंघन गर्दै उच्च स्तरमा युरेनियम प्रशोधन सुरु गरेको थियो ।

पश्चिमी देशहरूका अनुसार इरान आणविक हतियार नजिक पुग्दा मध्यपूर्वमा हतियार प्रतिस्पर्धा तीव्र हुन सक्छ । विशेष गरी साउदी अरेबियालगायत अन्य देशहरूले पनि समान क्षमता विकास गर्ने प्रयास गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

विशेषज्ञहरू भन्छन्, यदि इरान आणविक शक्तियुक्त राष्ट्र बनेमा क्षेत्रीय शक्ति सन्तुलन बदलिन सक्छ । केही विश्लेषकका अनुसार यसले प्रतिरोधात्मक सन्तुलन सिर्जना गर्न सक्छ भने अर्काथरि विज्ञहरूले गलत अनुमान वा आकस्मिक सैन्य टकरावको जोखिम झन् बढ्ने चेतावनी दिएका छन् ।
हाल अन्तर्राष्ट्रिय समुदायको ध्यान कूटनीतिक समाधानतर्फ केन्द्रित रहेको छ । अमेरिका र इरानबीच सम्भावित वार्ताको संकेत देखिए पनि अविश्वास कायमै रहेकाले आगामी अवस्था अनिश्चित बनेको विश्लेषण गरिएको छ ।
FACEBOOK COMMENTS