काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा कसैलाई पनि समर्थन गर्ने निर्णयमा सत्यता नभएको प्रस्ट्याएको छ।
सोमबार राप्रपाका केन्द्रीय प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले रून्देहीमा कांग्रेसलाई समर्थन गर्ने निर्णयमा सत्यता नरहेको जानकारी दिए।
आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि राप्रपाले कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको पनि उनले बताए।
‘राप्रपाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कसैसंग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन। पार्टीको नीति विपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय बन्छ,’ उनले भने, ‘प्राविधिक रूपमा राप्रपाको उम्मेदवारी खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिक तर्फको मत जुटाउन पार्टी पंक्ति र मतदातालाई राप्रपा अनुरोध गर्दछ।’
यसअघि क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले प्राविधिक कारणले यस निर्वाचनको उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए।
उनले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएका थिए। उनले सानुपातिक तर्फ भने राप्रपालाई मत दिन अनुरोध गरेका थिए।


FACEBOOK COMMENTS