तेहरान/जेरुसेलम । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ।
यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ’रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ ।
रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठुला अपतटीय तेल लोड गर्ने टर्मिनलमध्ये एक यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ ।
यसैबिच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमवार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुन: वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् ।
इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुन: सुरु गरेको छ । अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ ।

FACEBOOK COMMENTS