काठमाडौं । चीनले ईरानलाई सुपरसोनिक एन्टिशिप मिसाइल आपूर्ति गर्ने सम्झौता भएको भन्ने खबरको खण्डन गरेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उक्त दाबी गलत र भ्रम फैलाउने अभियानको हिस्सा भएको बताएकी छन् । उनले चीनले अन्तर्राष्ट्रिय दायित्वको पालना गर्ने जिम्मेवार शक्ति भएको उल्लेख गर्दै झुटा सूचना फैलाउने कामको विरोध गरेको स्पष्ट पारिन् । माओले सबै पक्षलाई तनाव बढाउने कदमभन्दा स्थिति शान्त बनाउने उपाय रोज्न आग्रह गरिन् ।
सिएम– ३०२ एक आधुनिक सुपरसोनिक एन्टिशिप मिसाइल हो, जसले समुद्री युद्धपोतहरूलाई निशाना बनाउन सक्छ । हाल अमेरिका आफ्नो सैन्य अभियानका क्रममा ईरानी जलक्षेत्र नजिक विमानवाहक पोतसहित नौसैनिक बल तैनाथ गरिरहेको सन्दर्भमा यस्तो हतियार आपूर्ति भएको भए त्यसलाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिन्थ्यो ।
मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावबीच चीन र ईरानबीचको सम्बन्ध पनि चासोको विषय बनेको छ । ईरान चीनका प्रमुख तेल आपूर्तिकर्तामध्ये एक हो र दुवै देशबीच रक्षा तथा रणनीतिक सम्बन्ध पनि घनिष्ठ मानिन्छ ।
युद्धका क्रममा ईरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएको भन्ने खबरपछि तेहरानको नयाँ नेतृत्वसँग चीनले कस्तो सम्बन्ध राख्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।
यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणको तयारी भइरहेको खबर छ । माओ निङले क्षेत्रीय संकटबीच पनि चीन र अमेरिका उच्चस्तरीय संवादमा रहेको पुष्टि गरिन् ।

एकपक्षीय सैन्य कारबाही वा सार्वभौम राष्ट्रका नेतामाथि आक्रमणजस्ता कदम रोक्न चीनले के भूमिका खेल्न सक्छ भन्ने प्रश्नमा माओले चीन बल प्रयोग र राष्ट्रिय सार्वभौमिकताको उल्लंघनको कडा विरोधी रहेको दोहोर्याइन् । उनले तत्काल प्राथमिकता सैन्य कारबाही रोक्नु, द्वन्द्व फैलिन नदिनु र वार्ता तथा संवादमार्फत क्षेत्रीय तथा विश्व स्थिरता कायम गर्नु भएको बताइन् ।

FACEBOOK COMMENTS