काठमाडौं। सर्लाहीमा मतदान अधिकृतका रूपमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीकै क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज कुमार राईका अनुसार मृत्यु हुनेमा सर्लाही बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत ४२ वर्षीय सिनियर अहेव रघुनाथ महतो रहेका छन् ।
जिगडवा आधारभूत विद्यालय, पर्सा गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा कार्यरत रहेका बेला फागुन १९ गते करिब २ बजे महतो अचानक बेहोस भएका थिए ।
बेहोस भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि पठाइएको थियो। अस्पताल पुर्याइएपछि करिब साढे २ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ।
उक्त जानकारी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्राप्त भएको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

FACEBOOK COMMENTS