काठमाडौँ । लेबनानको सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ । राष्ट्रपति मिशेल औनले युद्ध र शान्तिको निर्णय अब केवल लेबनानी राज्यको हातमा हुने भन्दै हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिएका छन् ।
उनले हिजबुल्लाहले आफ्ना हतियार सरकारलाई बुझाउनुपर्ने र यो निर्णयबाट पछाडि हट्ने कुनै विकल्प नभएको स्पष्ट गरेका छन् । यो निर्णय त्यसबेला आएको हो जब लेबनान र इजरायलको सीमामा तनाव निकै बढेको छ । हिजबुल्लाहले हालै इजरायलतर्फ रकेट प्रहार गरेको थियो ।
इजरायलले इरानमा आक्रमण गरेपछि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्ने निर्णय गरेको थियो । ताजा इजरायली बमबारीमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । हिजबुल्लाहले इजरायल र अमेरिकाले ईरानविरुद्ध चालेको सैन्य कारबाहीको जवाफमा आफूले यो हमला गरेको स्पष्ट गरेको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय युएनएचसीआरका अनुसार, पछिल्लो लडाइ सुरु भएयता लेबनानमा कम्तीमा ३० हजार मानिस आफ्नो घर छाडेर राहत शिविरमा पुगिसकेका छन् । धेरै मानिस गाडीमै वा सडक छेउमा रात बिताउन बाध्य छन् भने कोही अझै ट्राफिक जाममा फसेका छन् ।
FACEBOOK COMMENTS