काठमाडौँ । आज प्रतिनिधि सभाको लागि देशभर आम निर्वाचन हुदैछ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा आजको यो निर्वाचन हुन लागेको हो ।
देशको २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ सांसद र समानुपातिकतर्फ ११० सांसद छान्न यो निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर मतदान हुने जानकारी दिएको छ । साथै साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र पसिसकेका मतदाताले मतदान गर्न पाउने आयोगले स्पष्ट गरेको छ ।
आजको निर्वाचनमा प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । जसमा प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै यस्तै, समानुपातिकतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यसरी कुल ६ हजार ५७१ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
त्यस्तै निर्वाचन आयोगले यस चुनावमा कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने जनाएको छ । जस अनुसार ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० रहेका छन् । विस २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा यस पटक कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ । यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

३ हजार ६८० वटा मतदान स्थल ‘अति संवेदनशील’

निर्वाचन आयोगले देशभर रहेका कुल १० हजार ९६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको जनाएको छ । विगतका चुनावको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै ३ हजार ६८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ । मतदान स्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको आयोगले जनाएको छ । जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्रि घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ ।

६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने

निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने स्पष्ट गरेको छ । आयोगले मतदाता परिचयपत्र बाहेक अन्य परिचय खुल्ने कागजले पनि मतदान गर्न पाइने स्पष्ट गरेको छ । आयोगका अनुसार मतदाता परिचय पत्र बाहेक नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रले पनि मतदान गर्न पाइने व्यवस्था गरेको छ ।

मतदान केन्द्रमा महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने आयोगले देशका सबै मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरुको लागी विशेष व्यवस्था गरेको छ ।शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।
मतदानको दिन यी सवारी साधनलाई आवश्यक पर्दैन पास
मतदानको दिन फागुन २१ गते तोकिएका सवारी साधानका लागि आयोगबाट जारी भएको सवारी पास आवश्यक नपर्ने ब्यवस्था गरेको छ । आयोगले सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने गरी निम्न सवारीसाधनहरूलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाएको छ ।
जस अनुसार,
(क) दमकल, एम्बुलेन्स, शववाहन ।
(ख) खानेपानीका, दुध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन ।
(ग) दूरसञ्चार सेवा, खानेपानी, विद्युत, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन ।
(घ) अस्पताल सेवाका सवारीसाधनहरू (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) ।
(ङ) अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) ।
(च) हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन ।
(छ) नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन ।
(ज) आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनरपर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन ।
FACEBOOK COMMENTS