काठमाडौं । छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवादका घटना भए पनि अधिकांश क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
मतदान कति प्रतिशत भयो भन्नेबारे विवरण संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही बेरमा पत्रकार सम्मेलन गरेर मतदानको विवरण सार्वजनिक गर्ने आयोगको तयारी छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि गठित नागरिक सरकारले २१ फागुन अर्थात् आजका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । मतदानको दिन आउनु केही समयअघिसम्म पनि चुनाव हुँदैन कि भन्ने संशय कायमै थियो ।
तर, देशभर शान्तिपूर्ण रूपमा मतदान गराएर सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आफूले पाएको मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ । मतदान सकिएसँगै अब मतपेटिका संकलनको काम सुरु हुनेछ ।
मतपेटिका संकलनपश्चात् गणनाको काम सुरु हुनेछ । निर्वाचन आयोगले मतपेटिका छिट्टै संकलन हुन सक्ने स्थानमा आजै मतगणना सुरु हुने जनाएको छ । गणना सुरु भएको २४ घण्टाभित्र अधिकांश स्थानको नतिजा आइसक्ने दाबी आयोगको छ । प्रत्यक्षमा १ सय ६५ र समानुपातिकमा १ सय १० गरी २ सय ७५ सिटका लागि चुनाव भएको हो ।

FACEBOOK COMMENTS