काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा फागुन २४ गते सार्वजनिक बिदाको दिन नेपाल फुटबल खेलाडी संघले कुनै पूर्व जानकारी वा संवादबिना अचानक तालाबन्दी गरेको उल्लेख गरिएको छ । वार्ताको ढोका खुला रहँदा पनि यस प्रकारको कदम चालिएकोप्रति संघले खेद व्यक्त गरेको छ ।
एन्फाका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका विषयमा संघ, सहभागी क्लब र खेलाडी संघबीच निरन्तर संवाद हुँदै आएको बताउदै सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग समाप्त भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको संघले उल्लेख गरिएको छ ।
तर कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकोले सहमतिअनुसारका काम अगाडि बढाउन कठिनाइ भएको एन्फाको भनाइ छ ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम खेलको टिकटबाट प्राप्त केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध रहेको पनि एन्फाले स्पष्ट पारेको छ । संघका अनुसार वर्तमान कार्यसमितिले घोषणा गरेका सबै पुरस्कार रकम भुक्तानी गरिसकिएको छ । अघिल्ला कार्यसमितिले निर्णय गरेर बाँकी रहेका केही पुरस्कार रकम भने आन्तरिक स्रोत उपलब्धताअनुसार क्रमश: भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

तलब तथा भत्ताको विषयमा पनि नियमअनुसार भुक्तानी भइरहेको र आगामी दिनमा पनि सोही व्यवस्था कायम रहने संघले जनाएको छ ।

एन्फाले कार्यालयमा तालाबन्दी गरेर लिग आयोजना गर्न माग गर्नु विरोधाभाषपूर्ण भएको बताएको छ । तालाबन्दीका कारण राष्ट्रिय लिग, एन्फा यू–१८ लिग र एन्फा महिला लिग जस्ता घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि प्रभावित हुन सक्ने संघको भनाइ छ ।

यसले हङकङसँगको मैत्रीपूर्ण खेल, नेपाल र लाओसबिच हुने एएफसी छनोट खेल तथा साफ यू–२० प्रतियोगिताको तयारीमा समेत असर पर्ने एन्फाले जनाएको छ ।

संघले नेपाल फुटबल खेलाडी संघको आह्वानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगमा सहभागी खेलाडी र बाह्य व्यक्तिहरूको सहभागितामा गरिएको तालाबन्दी अनुशासनहीन र अराजक गतिविधि भएको उल्लेख गर्दै तत्काल रोक्न आग्रह गरेको छ ।

एन्फाले आफ्ना माग कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको भन्दै तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ । यदि यसका कारण नेपाली फुटबलका गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने संघले चेतावनी दिएको छ ।
साथै एन्फाले आफू सार्वजनिक संस्था भएको उल्लेख गर्दै कार्यालयको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधि सञ्चालनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ ।
FACEBOOK COMMENTS