काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा मृत्यु प्रकरणमा पीडित परिवारलाई भेटेर समवेदना व्यक्त गरेको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मुख्यमन्त्री कँडेलले यस्तो दु:खद घडीमा पीडित परिवारलाई सान्त्वना दिनु, उनीहरूको पीडा सुन्नु र न्यायका लागि पहल गर्नु मानवियताको सामान्य दायित्व भएको बताए ।
उनले भेटका क्रममा इनिशाकी आमासँग कुराकानी गर्दै घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने तथा कानूनअनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको बताएका छन् । उनले परिवारमाथि कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने प्रयास भएको भन्ने आरोप पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानूनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढ्ने बताए। घटना सार्वजनिक हुनासाथ संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए ।
उनले पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि कडा कारबाही गर्ने विषयमा आफू सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे। साथै सञ्चार माध्यमलाई भ्रमपूर्ण र असत्य सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनामा विश्वास नगर्न सबैमा अपिल गरेका छन् ।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको थियो ।

FACEBOOK COMMENTS