काठमाडौँ । अफ्रिकी फुटबल महासंघले अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलबाट खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको छ ।
फाइनल खेलको नतिजा उल्ट्याउँदै महासंघले सेनेगलले नियम उल्लंघन गरेको ठहर गर्दै खेल ३-० ले मोरक्कोको पक्षमा मान्य हुने निर्णय गरेको हो ।
यसअघि १८ जनवरीमा भएको फाइनलमा सेनेगलले मोरक्कोलाई अतिरिक्त समयमा १-० ले हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको अन्त्यतिर पाएको पेनाल्टीको निर्णयलाई लिएर सेनेगलका खेलाडीले मैदान छाडेका थिए ।
करिब १७ मिनेटपछि खेलाडीहरू मैदानमा फर्किए पनि त्यसले विवाद समाधान गर्न सकेन । पेनाल्टी प्रहार रोकिएपछि अतिरिक्त समयमा सेनेगलले निर्णायक गोल गर्दै जित निकालेको थियो ।
तर मोरक्को फुटबल महासंघले नियमअनुसार कारबाहीको माग गर्दै दिएको निवेदनपछि अफ्रिकी फुटबल महासंघले उक्त नतिजा उल्ट्याएको हो ।

महासंघका अनुसार खेलका क्रममा मैदान छाड्नु प्रतियोगिताको नियमविपरीत भएकाले सेनेगललाई पराजित घोषित गरिएको हो । नियमअनुसार खेल त्याग्ने टोली स्वतः पराजित मानिन्छ र ३-० को नतिजा लागु हुन्छ ।

मोरक्को फुटबल महासंघले आफ्नो अपिल खेलको नतिजा बदल्न नभई नियम कार्यान्वयन गराउनका लागि गरिएको जनाएको छ । साथै प्रतियोगितामा सहभागी सबै राष्ट्रको प्रशंसा पनि गरेको छ ।

फाइनल खेल निकै विवादास्पद बनेको थियो । अन्तिम समयमा दिइएको पेनाल्टीको निर्णयप्रति असन्तुष्ट हुँदै सेनेगलका प्रशिक्षकले खेलाडीलाई मैदानबाट बाहिर बोलाएका थिए । पछि खेल पुनः सुरु भए पनि घटनाले व्यापक आलोचना निम्त्याएको थियो । फुटबल जगतका विभिन्न व्यक्तिहरूले उक्त घटनालाई निन्दनीय भन्दै टिप्पणी गरेका थिए ।

FACEBOOK COMMENTS