काठमाडौं । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।
विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो ।
केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत ४ गते कम्बोडियाबाट उडेर चैत ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
राजदूतावासका अनुसार अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउने प्रयास जारी रहेको छ । कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको तथा भिसा बिना वा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाइएको छ ।

यस्तो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्कन सहजीकरणका लागि राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ ।

कतिपय पीडितको राहदानी कम्पनीले जफत गरेको वा हराएको गुनासो पनि आएको र यस्तो अवस्थामा राजदूतावासले नि:शुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरी उद्धार गर्ने व्यवस्था मिलाउँदै आएको जनाएको छ ।

तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिन्छ । सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपाली सन् २०२५ मा बढेर ९ हजार ६७६ पुगेका छन् ।

राजदूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै कमाइ हुने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा नजान पुन: आग्रह गरेको छ ।

FACEBOOK COMMENTS