काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ ।
समूहले नयाँ विधानअनुसार हुने निर्वाचनका लागि उपाध्यक्षसहित १७ सदस्यीय टोली आज सोमबार सार्वजनिक गरेको हो । उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
यस्सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् । महासंघतर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुली समावेश छन् ।
उम्मेदवार श्रेष्ठका अनुसार कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा र जलविद्युत् लगायत विविध क्षेत्र समेटेर सन्तुलित र समावेशी टोली तयार गरिएको छ । ‘महासंघको मर्म र जिम्मेवारीलाई नजिकबाट बुझेका छौँ । निजी क्षेत्रका समस्याहरू समाधान गर्न प्रतिबद्ध छौँ,’ उनले भने ।
श्रेष्ठले आफ्नो टोली सशक्त, समावेशी र जित सुनिश्चित भएको दाबी गर्दै आगामी निर्वाचनमा सबै उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

FACEBOOK COMMENTS