काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुदै छ ।
आज बस्ने प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे बस्ने सबै समितिको छुट्टा छुट्टै बैठकमा हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
समितिका सभापतिमा विहिबार मनोनयन दर्ता भएको छ । जसमा शिक्षा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा २-२ जनाको उम्मेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ ।
जसमा कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।

त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । यी सबै समितिमा एकल उम्मेदवारी परेकोको सभापति निर्बिरोध हुने भएको छ ।

त्यसैगरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा.ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ भने संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले मनोनयन दर्ता गरेका छन् ।