काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । सोमबार भएको भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको जनाइएको छ । कपुरले भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका योजना र प्राथमिकताबारे जानकारी लिने अवसर पाएको बताएका छन् । उनले द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने विषयमा समेत विचार आदान प्रदान भएको उल्लेख गरेका छन् ।
२- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । सोमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने बताएका थिए । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिएका थिए । छलफलका क्रममा उपकुलपतिहरुले विद्यार्थी संगठनका सरचना हटाउन खोज्दा धम्की र आक्रमण खेप्नुपरेको गुनासो गरेका थिए ।
प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत निर्देशन दिए । यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका सरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने जिकिर गरेका थिए ।

३- सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले साउदी अरेविया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल समेतका देशहरूमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएको देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । विभागले इराकबाहेक अन्य देशहरुको हकमा सबै प्रकारका श्रम स्वीकृती (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा हुने गरी खुला गरिएको जानकारी दिएको छ ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीमा भुपदेव साहलाई मनोनित गरेको छ । आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ । बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ । जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ ।
५- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि वैशाख ११ गते निर्वाचन हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय, सिंहदरबारमा ११ वैशाख दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने सूचना प्रकाशित गरेको छ ।
समितिले संसदीय दलको विधान अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक गरेको जानकारी दिएको छ । जस अनुसार, १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, अन्तिम नामावली भने ११ गते दिउँसो साढे ३ बजे गरिने, बैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरिएको छ । मतदान सिंहदरबारस्थित कांग्रेस संसदीयदलको कार्यालयमा हुने जानकारी निर्वाचन समितिले दिएको छ ।
६- जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । जापानी सञ्चारमाध्यमका अनुसार ७.४ तीव्रताको भूकम्प सानरिकु तट नजिक समुद्रभित्र करिब १० किलोमिटर गहिराइमा गएको हो । भूकम्पको तीव्रता जापानी मापन प्रणालीमा ५ प्लस स्तरमा मापन गरिएको छ । भूकम्पपछि प्रधानमन्त्री सनाए ताकाइचीले प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ जान अपिल गरेकी छन् । सरकारले सुनामीको जोखिम रहेका क्षेत्रहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।
७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङ बारे सरकारले आफ्नो धारणा तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे । सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा गृहमन्त्री गुरुङको साझेदारी भेटिएको बारे सरकारले आफ्नो धारणा तत्काल सार्बजनिक गर्न माग गरेका हुन् । उनले भने- ‘अहिले प्रारम्भमा नै जुन किसिमका समाचारहरु बाहिर आइरहेका छन् । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा प्रष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ ।’
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा बयान फेरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार काभ्रेको बनेपा नगरपालिका–३ का हिमाल तराई कन्सट्रक्सनका सञ्चालक राजमान तामाङले यसअघि अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
यसअघि नेपाल सरकारविरुद्ध चन्द्रबहादुर अधिकारीसमेत संलग्न घुस प्रकरणमा तामाङलाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजाय छुट दिइएको थियो । तर, विशेष अदालतमा उनले दिएको बयान अनुसन्धानका तथ्यसँग मेल नखाने देखिएको आयोगले जनाएको छ । अनुसन्धानबाट नेपाल बैंकसँग सम्बन्धित ऋण मिलाइदिने नाममा पाँच लाख रुपैयाँ घुस लेनदेन भएको तथ्य खुलेको आयोगको दाबी छ । उक्त रकमसम्बन्धी चेक पनि बरामद भएको उल्लेख गरिएको छ । आयोगले तामाङले गैरकानुनी लाभ लिन सहयोग गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसारकारबाहीको माग गरेको छ । पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।
९- नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, पाल्पा सेन्ट र शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.३५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी होटल फरेष्ट इन्को ३६ करोड एक लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको २९ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
१०- भारत र रुसबीच भएको सैन्य सहयोगसम्बन्धी ‘रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट’ सम्झौता कार्यान्वयनमा आएको छ । यसअन्तर्गत दुवै देशले एक–अर्काको भूमिमा तीन हजारसम्म सैनिक तैनाथ गर्न सक्ने भएका छन् । सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।
यस सम्झौतामा इन्धन, पानी, मर्मत, प्राविधिक स्रोतसाधन लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ । विमानका लागि हवाई यातायात नियन्त्रण तथा उडानसम्बन्धी सेवासमेत प्रदान गरिनेछ । सम्झौता सन् २०२५ फेब्रुअरीमा हस्ताक्षर भएको थियो भने सोही वर्ष डिसेम्बरमा रुसले अनुमोदन गरेको थियो । यो पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ । यद्यपि, यो सम्झौता युद्धका लागि नभई शान्तिकालमा तालिम, संयुक्त अभ्यास र लजिस्टिक सहयोगका लागि मात्र प्रयोग हुने जनाइएको छ । यसलाई भारत–रुसबीचको रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
११- अध्यागमन विभागले युएई जाने नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ । विभागले भनेको छ- ‘अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited. Visit till १० / ६ / २०२६’ लेखेको विषयमा मिति २०८२। १। ३ को निर्णयबाट छानविन समिति गठन गरिएको व्यहोरा अवगत नै छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ।’
अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ । यस अगाडि विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’
१२- गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीले गर्ने निर्णयको पालना गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् । पछिल्लो समय आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै गुरुङले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन् । उनले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोप निराधार भएको दाबी गर्दै सबै लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन् ।
उनका अनुसार धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा दुई करोडभन्दा बढी लगानी खुलाइसकिएको छ । स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही श्रेणीभित्र पर्ने भन्दै लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारेका छन् । गुरुङले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको बताएका छन् । लगानीका लागि प्रयोग गरिएको रकम कर्जामार्फत जुटाइएको र त्यसको कागजी प्रमाण तथा बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ ।
विवादित व्यक्तिसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको बताएका छन् । यस्तो आरोप न्यायोचित नभएको उनको जिकिर छ । ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे गुरुङले यस विषयको छानबिन सम्बन्धित निकायमार्फत भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् । उनले लगानीमा जोखिम स्वाभाविक हुने र पछिका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु उचित नभएको उल्लेख गरेका छन् । कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने पनि उनले बताएका छन् । गुरुङले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
१३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङ बारे उठेका प्रश्नको छानबिन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेका हुन् । काँग्रेसले यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने चेतावनी समेत दिएको छ । कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको बताएको छ ।
पछिल्लो पटक गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउदै यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख छ । काँग्रेसले विज्ञप्तिमा अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने बताएको छ । गृहमन्त्री गुरुङको सम्पत्ति र लगानीका विषयमा प्रश्न उठेपछि अहिले सरकार र रास्वपालाई चौतर्फी दबाब बढ्दै गएको छ । गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणसँगै उनको सेयर बजारमा लगानी र हाल सम्पत्ति शुद्धिकरण मुद्धामा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवसायिक सम्बन्धबारे एक पछि अर्को खुलासा हुन थालेपछि मन्त्री गुरुङ दबाबमा आएका छन् ।
१४- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई गरेको छ । राम नाम सत्यले २ करोड ७८ लाख १८ हजार ८४१ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल ९७ हजार २०५ टिकट विक्री भएको छ । राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो । त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले ४६ लाख ७६ हजार ६३७ कमाई गरेको छ । पहाडको कुल १४ हजार ३१८ टिकट बिक्री भएको छ ।
१५- कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासनको बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको टेकुस्थित कार्यालयमा सोमबार बिहान बाँडफाँड गरिएको हो । कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँ रहेकोमा २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यसमा दोलखा जिल्लाका प्रभावित स्थानीयका लागि ५ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि ८ लाख २५ हजार कित्ता सेयर छुट्याइएको थियो ।
सर्वसाधारणतर्फको सेयरमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी ६ लाख ८४ हजार ७५० कित्ता खुला गरिएको थियो । सेयरमा २६ लाख ३५ हजार ६३४ जनाबाट आवेदन परेको थियो, जसमा २ करोड ९१ लाखभन्दा बढी कित्ताका लागि माग गरिएको थियो । यसमध्ये ४२ हजार ४३६ आवेदन अयोग्य ठहरिएका छन् । बाँडफाँड अनुसार गोलाप्रथाबाट ६८ हजार ४७५ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।
१६- नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले पार्टी छोड्नु ठुलो भूल हुने बताएका छन् । पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै अहिलेको अवस्थामा पार्टी छोड्नु ठुलो भूल हुने बताएका हुन् । उनले भनेका छन्- ‘हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु-याउनका लागी हार्दिक अनुरोध गर्दछु ।’
उनले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको अवस्थामा त्यसलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् । गुरुङले हालै पूर्व केन्द्रीय नेताहरूबीच छलफल गरेर अदालतको फैसला मान्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । गुरुङले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीलाई बधाई दिँदै सबैलाई एकताबद्ध भएर पार्टीको हितमा लाग्न आह्वान गरेका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ५१९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२२५ मा कारोबार भएको थियो ।
१८- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विद्यार्थी सङ्गठनको उपस्थिति निषेध गर्ने कदम अलोकतान्त्रिक भएको बताएका छन् । ज्ञवालीले विश्वविद्यालयभित्र ‘सुरक्षा इकाइ’ स्थापना गर्ने निर्णयलाई प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् ।
उनले यस्तो विषयमा हस्ताक्षर हुनु आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् । उनका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या भए पनि त्यसलाई निषेध गर्नु समाधान नभएको बताएका छन् । विद्यार्थीका हित, शिक्षाको गुणस्तर सुधार र स्वस्थ शैक्षिक वातावरणका लागि संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले प्रश्न गरेका छन्- ‘के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’ ज्ञवालीले विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरणतर्फ लैजानुपर्ने उल्लेख गर्दै प्रतिबन्धले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन् ।
१९- अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरिएको छ । हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा तलब प्राप्त गर्दै आएका थिए भने यो व्यवस्था लागुभएपछि अब महिनामा दुई पटक तलब पाउने भएका छन् ।
२०- पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो । पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । लखनउका लागि ऋषव पन्तले सर्बाधिक ४३ रन बनाएका थिए भने एडन मार्क्रमले ४२, मिचेल मार्चले ४०, आयुष बदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाएका थिए ।
त्यस्तै पञ्जावका बलर मार्को जानसेनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैश्यकले एक एक विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले प्रियांस आर्याको ९३ र कूपर कोनोल्लीको ८७ रनको सहयोगले २० ओभरमा ७ विकेट गुमाउदै २५४ रन बनाएको थियो । यो जितपछि पञ्जावको ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लखनउको भने ६ खेलमा यो चुठो हार हो ।