काठमाडौं । गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरको हरिहरभवनस्थीत आयोगको कार्यालय नजिकै प्रदर्शन गरेका थिए ।
प्रदर्शन गर्दै आयोगको कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारी युवाहरुले मानवअधिकार किन चुप सरकारसंग भयो की घुसपैठ ? , सत्य लुकाएर के पायौ ?, प्रतिवेदन किन लुकायौ, मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो लगायत देखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए ।