काठमाडौँ । नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो यस लिग–२ साइकलमा नेपालले पहिलो पटक अमेरिकालाई पराजित गरेको हो । यो जितपछि नेपालको २६ खेलमा २० अंक भएको छ । त्यस्तै अमेरिकाको २६ खेलमा ३६ अंक रहेको छ ।

अब सिरिजको अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।
आइसिसी क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य