काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ।
परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो।
शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।
मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्याउने विश्वास लिइएको छ।

परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ।
