काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बिमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।
विभिन्न कारणले समयमै बिमा शुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान जेठ ११ देखि ३१ गतेसम्म लागु हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बिमालेख व्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुविधा लिई व्यतित बिमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ । ग्राहकले संस्थाको देशैभर रहेका १६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।
