काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ ।
महानगरपालिकाको वडा-६ मा सञ्चालित सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिए । सहकारी संस्थाका उपाध्यक्ष रविन लामाका अनुसार अरुको कुरा सुनेर केही बचतकर्ता आज आएनन् । उनीहरुलाई फिर्ता लिन आग्रह गर्ने उनको भनाइ छ ।
सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । ठुला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरुलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै जाने तयारीमा छौँ, उपाध्यक्ष लामाले भने ।
सहकारीमा कम बचत गर्नेले १ हजार ११५ रुपैयाँ र धेरै बचत गर्नेले ८० लाख रुपैयाँसम्म रकम जम्मा गरेको लामाको भनाइ छ ।
सहकारी विभागले बचत फिता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ । विभागका प्रमुख ध्रुवकुमार काफ्ले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भने, ‘माग दाबी सहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बिच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ । संस्थाको सञ्चालक समितिको निर्णय अनुरोध अनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र र सार्वजनिक सूचनाबाट ऋण चुक्ता गर्न सन्देश र अनुरोध पठाउँछौँ ।’

यो प्रक्रिया वडाबाट प्रारम्भ हुन्छ । वडा अध्यक्षलाई सम्बोधन गरेर निवेदन दिएपछि वडा महिला सञ्जालबाट छलफल र मेलमिलापको प्रक्रिया थालनी हुन्छ । सहकारीको चेक बाउन्स वा ऋणीको चेक बाउन्सका हकमा म्याद भित्र निवेदन प्राप्त हुन आए कारवाहीका विभागले शिफारिस गर्ने, काफ्लेले जानकारी दिए ।

वडा स्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ । ऋणीले ऋण भुक्तानी नगरे कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पठाइन्छ ।

यस प्रक्रियाबाट एकमुष्ट वा किस्तामा बचत रकम र ऋण फिर्ता हुने गरेको छ । संस्था बन्द गरेकाको हकमा सम्पर्कमा नआउनेका हकमा एसएमएस र पत्रमार्फत सूचना दिने तथा कारवाहीका लागि पठाउने गरिएको छ ।
काठमाडौँ महानगरपालिकाभित्रका ७२६ वटा सहकारी संस्था सम्पर्कमा छन् । १ हजार १८६ वटा संस्था सम्पर्कमा छैनन् ।
महानगरपालिकाको सहकारी विभागले वडा महिला सञ्जाललाई पत्र पठाएर सहकारीका सिद्धान्त, व्यवसाय प्रवर्र्धन तथा सुशासन कायम राख्न सहयोग तथा समन्वयको भूमिका निर्वाह गर्न जिम्मेवारी दिएको छ ।
सामूहिक हित, समन्वय तथा मेलमिलापमार्फत समस्या समाधान गर्ने उद्देश्यले यस सञ्जाललाइ सहकारी सम्बन्धी कार्य विवरण थप गरिएको विभागका प्रमुख काफ्लेको भनाइ छ ।
यस कामका लागि वडा महिला सजालका संयोजक र सदस्यहरुको सम्लग्नता रहनेछ । मेलमिलाप तथा छलफलका लागि सहकारी संस्थाको तर्फबाट सहकारी संस्थाका प्रतिनिधि, ऋणीका हकमा स्वयं ऋणी तथा बचतकर्ताका हकमा स्वयं बचतकर्ता सहभागी हुनेछन् ।
यसका लागि काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भइ सम्बन्धित वडा क्षेत्रमा पर्ने सहकारी संस्था सम्बन्धी बचतकर्ताको बचत रकम फिर्ताको एकल वा संयुक्त निवेदन लिनेछ । सहकारी संस्था वा ऋणीलाई एसएमएस पोर्टलबाट वा पत्राचारका माध्यमबाट सम्पर्क गरेर बोलाउनेछ । मेलमिलापका लागि संस्थाको नाम, ठेगाना, दावी गरिएको रकम सम्बन्धी विवरण, सम्पर्क नम्बर, तमसुक सहितको अभिलेख लिनेछ । छलफल र मेलमिलापसँगै सहकारी संस्थाबाट ऋण लिएर ऋण नतिर्ने ऋणीहरुबाट ऋण उठाउन सहजीकरण गर्नेछ ।
वडाबाट सूचना गएपछि पनि ऋणीहरूले ऋण तिर्न कुनै चासो नदेखाएमा वा सम्पर्कमा नआएमा त्यस्ता ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा केकस्ता प्रतिबन्ध लगाउन सकिन्छ भन्ने विषयमा वडा अध्यक्ष र विभागलाई सुझाव दिनेछ । यस्तो कारबाही हुन सक्ने प्रावधानबारे सम्बन्धित ऋणीहरूलाई जानकारी गराउनेछ ।
सहकारी विभागलाई वडाभित्रका सहकारी संस्थाको वित्तीय अवस्था, बचत फिर्ता, ऋण असुली तथा सदस्य हित सम्बन्धी समस्याको जानकारी गराउनेछ । सहकारी संस्थामा सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गराउनेछ । सहकारी सम्बन्धी समस्या समाधानका लागि निकायगत समन्वय गर्नेछ ।
सहकारी संस्थाको वित्तीय सुशासन अन्तर्गत साधारण सभामा वित्तीय प्रस्ताव सम्बन्धी व्यवस्था, लेखा परीक्षण, कर कार्यालयमा सालबसाली कर दाखिलाको नियमितता जस्ता विषयमा जानकारी राख्नेछ ।