काठमाडौं । जेनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न युवा समूह र अभियन्ताले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।
आन्दोलनका क्रममा पक्राउ परेका सयौँ युवाहरू अझै पनि विभिन्न मुद्दामा थुनामा रहेको विषयप्रति उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्ति अनुसार गत भदौ २३ र २४ गते भएको ऐतिहासिक जेनजी जनआन्दोलन सुशासन र लोकतान्त्रिक अधिकारका लागि युवाहरूले उठाएको नागरिक आवाज थियो । तर, सो समयमा राज्यले अत्यधिक बल प्रयोग र दमन गर्दा दर्जनौँ प्रदर्शनकारीले ज्यान गुमाएका थिए भने हजारौँ घाइते र सयौँ पक्राउ परेका थिए ।
आन्दोलनमा सहभागी भएकै आधारमा मात्रै युवाहरूमाथि ९०० भन्दा बढी मुद्दा चलाइएको, करोडौँको बिगो र वर्षौँ कैद माग गरिएको भन्दै युवा समूहहरूले आपत्ति जनाएका छन् । यो कदम संविधानको धारा १७ द्वारा प्रदत्त विचार, अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शनको स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उनीहरूको ठहर छ ।
यसका साथै राज्यको यस शैलीले संविधानको धारा १८, २०, २४, ३८ र ३९ ले सुनिश्चित गरेका क्रमश: समानता, न्याय, यातनाविरुद्धको हक, तथा महिला र बालबालिकाको अधिकारको समेत धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ ।


