काठमाडौं । कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका छैटौं र नेपालका दोस्रो खेलाडी बनेका छन्।
एसियन गेम्स छनोट अन्तर्गतको चीनविरुद्धको पहिलो खेलमा नेपालका क्रिकेटर भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन्।
एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। विश्वमा भने एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी छैटौं खेलाडी हुन्।
यस अघि हर्सल गीब्स, युवराज सिंह, जसकरन मल्होत्रा, कायतन पोलार्ड र दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
नेपालले यसअघि, हाङजाउमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । यो नेपालले टी २० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा उच्च रन हो।

काठमाडौँ । एसियन गेम्सको छनोट खेलमा नेपालले चीनलाई ३ सय १४ रनको भीमकाय लक्ष्य दिएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २ विकेट क्षतिमा ३ सय १३ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले बिष्फोटक शतक प्रहार गरे । उनले ४३ बलमा १ सय २९ रन बनाएका हुन्, जसमा १६ छक्का र ५ चौका सामेल थिए । कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा ६९ रन बनाएर अविजित रहे ।
नेपालले बनाएको ३ सय १३ रन टि २० अन्तर्राष्ट्रियको इतिहासमा तेस्रो ठूलो हो । नेपालले यसअघि मंगोलियाविरूद्ध ३ सय १४ रन जोडेको थियो । टि२० आईमा सबैभन्दा बढी स्कोर जिम्बाबेले जाम्बियाविरूद्ध ३ सय ४४ रन बनाएको छ ।