नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी रहेको बताएका छन्।
बजेटले परम्परागत आर्थिक संरचनामा रूपान्तरण ल्याउने तथा कानुनी सुधारमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रयास गरेको उनको भनाइ छ । गत शुक्रबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि नेपाल आर्थिक पत्रकार संघले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन ।
उनले कर सम्बन्धी विवादित मुद्दाहरू समाधान गर्न र उद्यमशीलतामा रहेका झन्झट तथा ढिलासुस्ती हटाउने प्रयासलाई सकारात्मक रूपमा स्वागत गरे। विदेशी लगानीकर्ताले आफ्नो लगानी सहज रूपमा फिर्ता लैजान सक्ने व्यवस्था बजेटमा समेटिनु पनि सकारात्मक कदम भएको उनले बताए।
तर, ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तामाथि लगाइएको कर तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप गरिएको करको विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने उनको सुझाव छ। यस्ता कर व्यवस्थाले आम नागरिक र निजी क्षेत्र दुवैलाई थप आर्थिक भार पर्न सक्ने भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको उनले उल्लेख गरे।