काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके मुलुकको अर्थतन्त्रले नयाँ उचाइ हासिल गर्ने बताएका छन् ।
गत शुक्रबार सार्वजनिक गरिएको बजेटबारे नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले बजेटले सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरेको बताए। उनले बजेटका व्यवस्था कार्यान्वयनमा केन्द्रित हुन सके अर्थतन्त्र सुधारको दिशामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
अग्रवालले वर्तमान सरकारले ल्याएको बजेटलाई दीर्घकालीन सोचसहित तयार गरिएको उल्लेख गर्दै आगामी पाँच वर्षसम्म यस्तै नीतिगत निरन्तरता कायम रहन सके नेपालले आर्थिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्न सक्ने धारणा राखे। उनले निजी क्षेत्रको मनोबल बढाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रयास बजेटमा देखिएको बताए ।
उनले ३६० वटा वस्तुको भन्सार तथा अन्तःशुल्क दर घटाउने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गरे। यसबाट उत्पादन लागत घट्नुका साथै उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने उनको भनाइ थियो ।
यद्यपि, कमलेश अग्रवालले ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएका केही कर व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै ती विषयमा सरकारले पुनर्विचार गर्नुपर्ने बताए। यी क्षेत्र प्रत्यक्ष रूपमा जनजीवन र विकाससँग जोडिएकाले कर नीतिले थप भार सिर्जना गर्ने भन्दै सरकारलाई पुनर्विचार गर्न सुझाव दिए ।
