काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा कार्यालय स्वीकृति र एकीकरणलगायतका कार्यमा सहकारी सिद्धान्त, मूल्य–मान्यता तथा प्रचलित कानुन विपरीत भूमिका देखिएका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूसँग स्पष्टीकरण मागिएको छ ।
प्रतिवेदनमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूको नाम नै किटान गरी छानबिन गर्न सिफारिस गरिएको थियो । स्पष्टीकरण सोधिनेमा शाखा अधिकृत देखि सहसचिवसम्मका कर्मचारीहरू रहेका छन् । मन्त्रालयले सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गर्दै आफ्नो कार्यकालमा आयोगको प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्य गरेको हो वा होइन भन्ने विषयमा आधारसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र जवाफ नआए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । आयोगको प्रतिवेदन कार्यान्वयन तथा थप अध्ययनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिमा सहकारी नियमन प्राधिकरणका निर्देशक, मन्त्रालयको कानुन महाशाखाका उपसचिव, सहकारी विभागका उपरजिस्ट्रार तथा मन्त्रालयको सहकारी प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । समितिलाई आयोगको प्रतिवेदनको विस्तृत अध्ययन गरी तत्कालीन तथा दीर्घकालीन सुधारका सुझाव तयार गर्ने, प्राप्त स्पष्टीकरणहरूको विश्लेषण गर्ने, नयाँ सहकारी ऐनको मस्यौदा तयार गर्न सहयोग गर्ने तथा प्रतिवेदनमा औँल्याइएका सहकारी संस्थासम्बन्धी टिप्पणी फाइलहरूको अध्ययन तथा विश्लेषण गर्ने कार्यादेश दिइएको छ । विभागीय मन्त्री प्रतिभा रावलले प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् । उनले भनिन्, प्रतिवेदनको सुझाव अनुसार सहकारी क्षेत्रको संरचनागत सुधारको ठोस योजनामा काम सुरु भएको छ ।
२- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश सभामा मंगलबार सार्बजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, स्वास्थ्य र सुशासन केन्द्रित विस्तृत कार्यक्रम सार्बजनिक गरेको हो । नीति तथा कार्यक्रममा निजी र सहकारी क्षेत्रको सहकार्यमा समावेशी आर्थिक संरचना निर्माण गर्ने लक्ष्य राख्दै दोस्रो पञ्चवर्षीय योजनाका रणनीतिक कार्यक्रमलाई कार्यान्वयनमा लैजाने जनाएको छ ।

त्यस्तै बजेट प्रणालीलाई दिगो विकास लक्ष्य, लैङ्गिक उत्तरदायी, बालमैत्री, पोषणमैत्री र जलवायु सूचकका आधारमा सुदृढ बनाइने उल्लेख छ भने विकास आयोजनामा स्पष्ट लक्ष्य, पर्याप्त बजेट र समयसीमा तोकिने तथा आयोजना प्रमुखलाई प्रत्यक्ष परिणामप्रति उत्तरदायी बनाइने नीति उल्लेख छ । नीति तथा कार्यक्रममा कृषकलाई उधमी र कृषिलाई उद्योग, रिटर्न टू भिलेज, गाउँको कृषि: प्रदेशको समुन्नती, धार्मिक पर्यटन परिपथ, राउण्ड फेवा: भ्यू फेवा कार्यक्रम, लेक टू लेक, एक जिल्ला एक पर्यटकीय गन्तव्य, एक महिला एक सीप, अबको निकास, युवाको विकास, एक घर एक धारा, एक जिल्ला एक जलाशय, उज्यालो गण्डकी जस्ता कार्यक्रम नीति तथा कार्यक्रममार्फत ल्याइएको छ ।

३- प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भारतसँगको सीमा विवादबारे आइतबार दिएको अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने स्पष्ट गरेका हुन् ।

प्रधानमन्त्री शाहले संसदमा लिपुलेक बारे बेलायतसँग कुरा गर्नुपर्ने बताएको प्रति संकेत गर्दै प्रवक्ता जयसवालले भने- ‘सबै सम्बन्धित पक्षलाई यो स्पष्ट हुनुपर्छ, भारत र नेपालबीच जे पनि द्विपक्षीय मामिला छन्, त्यसमा तेस्रो पक्षको कुनै भूमिका छैन ।’ प्रधानमन्त्री शाहले आइतबारको संसदमा नेपालले पनि भारतको जग्गा मिचेको बताउदै बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता रहेको बताएका थिए ।
तर प्रधानमन्त्री शाहको यस अभिव्यक्तिको जवाफमा भारतले बेलायतको भूमिकालाई सिधै अस्वीकार गरेको छ । प्रवक्ता जयसवालले भारत-नेपाल सीमाबारे नेपालका प्रधानमन्त्रीको टिप्पणी, उनको बयान र सँगसँगै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य बारे जानकार रहेको बताउदै भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको र केही स्थानमा समस्या रहेको बताएका छन् । उनले सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र ‘नो म्यान्स ल्यान्ड’ (दसगजा क्षेत्र) मा अतिक्रमणका घटना पनि रहेको र त्यसलाई संयुक्त रूपमा मानचित्रण भइरहेको बताए । उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रले काम गरिरहेको समेत बताए ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटवार्तामा नेपाल-भारतबीच विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित भएको जयशंकरले उल्लेख गरेका छन् ।
उनले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताउदै छलफल विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको बताएका छन् । लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।
५- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम जापानमा हुने एशियन गेम्सका लागि छनौट भएको छ । सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत मंगलबार समुह ए मा मलेसियाले चीनलाई पराजित गरेसँगै मलेसिया र नेपाल दुवै एसियन गेम्समा छनौट भएका हुन् । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २१२ रनको फराकिलो अन्तरले हराएको थियो ।
अब नेपालले मलेसियासँग विहिबार खेल्ने तालिका रहेको छ । छनोटबाट सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने छन् । समुह बी मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।
६- वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले नगर प्रमुख सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । अदालतले लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार धरौटी माग गरेको छ । सिंहलाई मंगलबार बिहान पर्साको ठोरी रिसोर्टबाट पक्राउ गरिएको थियो ।
७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१–सिआर–०११८ मा नेपाल सरकार वादी तथा चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान र आरोप मागदाबीको विपरीत अदालतमा बकपत्र गरेको विषयमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थायी ठेगाना भएका ईश्वरी प्रसाद गौतमले वैशाख २३ गते विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबीविपरीत अभिव्यक्ति दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिएबापत ५० लाख रुपैयाँ घुस माग गरी लिएको घटनामा ईश्वरी प्रसाद गौतमको पनि संलग्नता देखिएको छ । यस आधारमा गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ । उक्त ऐनको व्यवस्था अनुसार उनलाई कैद सजाय तथा बिगो बराबरको जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
८- राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु दुःखद भएको बताएकी हुन् ।
उनले भनिन्- ‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’ उनले प्रधानमन्त्री भनेको व्यक्ति नभई संस्था भएको बताउँदै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताईन् ।
९- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
१०- प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा अवरोध जारी राखेपछि सभामुखले बैठक सोमबारसम्मका लागि स्थगित गरेका हुन् । मंगलबारको बैठक शुरु हुनासाथ सभामुख डिपी अर्यालले विपक्षी दलका सांसदहरुलाई आफ्नो धारणा राख्ने समय दिएपछि बैठक संचालन गरेपछि उनीहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । त्यसपछि सभामुख अर्यालले आजका कार्यसूचीमा रहेका विषय हटाउदै बैठक सोमबारसम्मका लागि स्थगित गरेका छन् ।
११- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्रीको संसदमा हाजिरी परिक्षण गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रतिनिधि सभाको नियमावली अनुसार संसदका हरेक सदस्यले संसदमा हाजिरी गर्ने व्यवस्था अनुसार प्रधानमन्त्री संसदमा कति पटक आउनु भयो र हाजिर गर्नु भयो वा भएन परिक्षण गर्न माग गरेका हुन् । साम्पाङले सीमा बारे दिएको अभिव्यक्ति बारे सबै नेपालीसँग माफी माग्नु पर्ने बताउदै यो कुनै पार्टी वा व्यक्तिको कुरा नभएको बताए ।
१२- नेपालमा विदेशी पर्यटकको अगामन मे महिनामा १९.०७ प्रतिशतले बढेको । गत बर्षको मे महिनामा भन्दा यस बर्षको मेमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको मेमा कुल एक लाख २ हजार ६२६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मेमा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मेमा यो संख्या ७८ हजार ३२९ रहेको थियो । मे महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् ।
भारतबाट मेमा ४० हजार ७८२ जना अर्थात ३९.७४ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मेमा चीनबाट दोस्रो धेरै ११ हजार ५१४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी अमेरिकाबाट ९ हजार १, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अस्ट्रेलियाबाट २ हजार ८७० जना, मलेसियाबाट २ हजार ८५७ जना र जापानबाट १ हजार ७५६ पर्यटक मे महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार ४६१, एशियाका अन्य देशबाट २० हजार ४६२ जना, युरोपबाट १३ हजार ४४० जना, अमेरिका क्षेत्रबाट १० हजार ६१८ जना, ओसिनियाबाट ३ हजार १८८ जना मे महिनामा नेपाल आएका छन् ।
१३- अमेरिका–इरान युद्धका क्रममा तटस्थ भूमिका अपनाइरहेको ओमानमाथि अमेरिका वा इरानमध्ये एक पक्ष रोज्न दबाब बढाइएको दाबी गरिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । अमेरिकी तथा अरब अधिकारीहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा वासिङ्टनले अब ओमानलाई स्पष्ट रूपमा एक पक्षको समर्थन गर्न र इरानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्न दबाब दिइरहेको छ ।
हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि प्रतिबन्ध लगाउने तथा आवश्यक परे बमबारीसमेत गर्न सकिने चेतावनी दिएका थिए । उक्त चेतावनी एक गोप्य सूचनापछि आएको बताइएको छ, जसमा इरान र ओमानले संयुक्त रूपमा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने सम्भावनाबारे छलफल गरेको दाबी गरिएको थियो । रोपोर्टमा अमेरिका र इरानबीच सन्तुलन कायम राख्ने ओमानको नीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । यदि ओमानले खुला रूपमा अमेरिकाको पक्ष लियो भने युद्धका क्रममा इरानले अन्य खाडी मुलुकहरूमाथि गरेको जस्तै प्रतिशोधको सामना गर्नुपर्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।
ओमानको इरानप्रतिको नीतिको आलोचना अमेरिकाले मात्र नभई संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाजस्ता उसका प्रमुख क्षेत्रीय साझेदारहरूले पनि गरिरहेका छन्। उनीहरूको धारणा अनुसार ओमानले तेहरानसँग अत्यधिक निकट सम्बन्ध कायम राखेको छ । अरब अधिकारीहरूका अनुसार ओमानले विभिन्न अवसरमा अमेरिका तथा अन्य देशहरूले जारी गरेका संयुक्त विज्ञप्तिहरूमा सहभागी हुन अस्वीकार गरेको थियो। ती विज्ञप्तिहरूमा इरानी आक्रमणहरूको निन्दा गरिएको थियो। अधिकारीहरूले जनाएअनुसार ओमानी बन्दरगाहहरूमा ड्रोन आक्रमण भएपछि पनि ओमानले सार्वजनिक रूपमा इरानलाई दोषी ठहर गरेन।
उसले घटनाको पुष्टि गर्नेबाहेक थप टिप्पणी गर्न अस्वीकार गरेको थियो । युद्धका क्रममा ओमानका सुल्तान हैथम बिन तारिक अल सइद खाडी क्षेत्रका एकमात्र नेता थिए, जसले इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई बधाई दिएका थिए ।
१४- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन उप्रक्रिया शुरु भएको छ । काँग्रेसकै सांसदहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनलाई हटाउने प्रक्रिया शुरु भएको हो । प्रदेशमा काँग्रेसका १८ सांसद मध्ये ९ जनाले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका हुन । कांग्रेसका १८ सांसदमध्ये लामोसमयदेखि प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन् । कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए ।
१५- सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै पोखरेलले सीमा विवाद सम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि प्रधानमन्त्री अचम्म परेको भनेर भनेको बताएका हुन् ।
उनले भने- ‘प्रधानमन्त्रीजीले के भन्नु भएको हो भने हामीले सीमा विवादसम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि आफु अचम्ममा परेको भनेर भन्नु भएको हो । त्यो हिसाबले सदनमा भन्नु भएको र यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट गरिसकेको छ ।’ प्रवक्ता पोखरेलले दुई देश बसेर सीमा सम्बन्धि विवाद मिलाउने बताए । उनले प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको कुरा आउदा आफु अचम्ममा परेको बताएको उल्लेख गरे ।
१६- मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गर्ने सहितका चार निर्णय गरेको छ । आज बसेको बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै आजको बैठकले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम बाट ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई पदमा बढुवा गर्ने निर्णय गरेको र २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
१७- अमेरिका-इरान युद्धको प्रभाव तेल बजारमा स्पष्ट रूपमा देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हालसम्म अमेरिकाको आपत्कालीन तेल भण्डारबाट करिब पाँच करोड ८० लाख ब्यारेल कच्चा तेल बजारमा जारी गरिसकेको छ । यो कुल रणनीतिक तेल भण्डारको करिब १४ प्रतिशत हो । इरानसँगको युद्धका कारण उत्पन्न आपूर्ति समस्यालाई कम गर्ने उद्देश्यले कच्चा तेल बजारमा पठाइएको अमेरिकी प्रशासनले जनाएको छ ।
अमेरिकासँग लुइसियाना र टेक्सास राज्यका भूमिगत भण्डारणस्थलमा अधिकतम ७१ करोड ४० लाख ब्यारेल तेल राख्ने क्षमता छ । सन् २०२६ मार्चमा संकट सुरु हुनुअघि त्यहाँ करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात थियो । तर हाल यो घटेर ३५ करोड ७१ लाख ब्यारेलमा झरेको छ । यो सन् २०२४ जनवरीयताको सबैभन्दा न्यून स्तर हो । राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले अमेरिकाले आफ्नो रणनीतिक तेल भण्डार लामो समयसम्म खाली राख्न सक्दैन । संकट समाप्त भएपछि ट्रम्प प्रशासनले बजारबाट पुनः महँगो मूल्यमा तेल खरिद गरेर भण्डार भराउनुपर्ने अवस्था आउनेछ, जसले अमेरिकी सरकारी कोषमाथि ठूलो आर्थिक भार पर्ने अनुमान गरिएको छ ।
तेल बजारमा पठाउने निर्णय अमेरिकाको मात्रै नभई अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूको संयुक्त निर्णय रहेको बताइएको छ । ती देशहरूले सामूहिक रूपमा ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेका छन् । यो इतिहासकै सबैभन्दा ठूलो आपत्कालीन तेल आपूर्ति कार्यक्रम मानिएको छ । अमेरिकाले जारी गरिरहेको तेल पनि यही अन्तर्राष्ट्रिय सम्झौताको एक हिस्सा हो । सामान्यतया यस्ता ठूला युद्ध र आपूर्ति अवरोधका बेला कच्चा तेलको मूल्य अत्यधिक बढ्ने गर्छ । तर यो कदमका कारण मूल्य नियन्त्रणबाहिर जानबाट रोकिएको विश्लेषण गरिएको छ । यद्यपि, विज्ञहरूले यसलाई केवल अस्थायी राहतको उपायका रूपमा लिएका छन् । यदि जुन महिनाको अन्त्यसम्म प्रभावित समुद्री मार्ग पुनः सञ्चालनमा आउन सकेन भने कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५४०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५३५५ मा कारोबार भएको थियो ।
१९- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । २१ बुँदे निर्देशन जारी गर्दै प्रधानन्यायाधीश डा.शर्माले सुधारलाई पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरणका लागि भएका प्रयास र उपलव्धिहरूलाई निरन्तरता दिँदै त्यस प्रकारका मुद्दाहरूको फर्स्योटलाई विशेष प्राथमिकता र संवेदनशीलताका साथ लिई यस आर्थिक वर्षको अन्तसम्म दुई वर्ष नाघेका मुद्दाहरू र २०८३ पौष मसान्तसम्ममा अठार महिना नाघेका मुद्दाहरू शून्यमा ल्याउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् ।
उनले न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि, बक्यौता मुद्दा न्यूनीकरण, सुशासन, पारदर्शिता, प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा सुधार र विकृति–विसंगतिप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनसमेतका लागि विशेष ध्यानाकर्षण गराएका छन् । साथै प्रधानन्यायाधीश शर्माले मुख्य न्यायाधीश तथा मुख्य भई काम गर्ने न्यायाधीशहरूलाई सूचना प्रविधिको प्रयोगमा जोड दिनसमेत निर्देशन दिएका छन् ।
२०- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा परिवर्तन गर्नुका साथै टेस्ट क्रिकेटमा पिंक बल प्रयोगसम्बन्धी नयाँ परीक्षणलाई पनि स्वीकृति दिइएको छ । आईसीसी बोर्डले खेलसम्बन्धी नियम संशोधन गर्दै अब मुख्य प्रशिक्षक वा उनले तोकेको प्रतिनिधिले निर्धारित ड्रिंक ब्रेकका क्रममा खेलाडीसँग परामर्श गर्न पाउने व्यवस्था स्वीकृत गरेको छ ।
यसअघि खेल चलिरहेको समयमा प्रशिक्षक र खेलाडीबीच रणनीतिक संवादमा कडा प्रतिबन्ध थियो । नयाँ व्यवस्थाअनुसार निर्धारित विश्रामका बेला टोलीले रणनीतिक छलफल गर्न सक्नेछ । यसले खेलको परिस्थितिअनुसार टोलीलाई अझ प्रभावकारी निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ । आईसीसी बोर्डले टी–२० अन्तर्राष्ट्रिय खेलमा दुवै इनिङ्सबीच १५ मिनेटको अनिवार्य अन्तराल लागू गर्ने निर्णय पनि गरेको छ । यस कदमले खेल सञ्चालनलाई अझ व्यवस्थित बनाउने, खेलाडीलाई पर्याप्त तयारी समय उपलब्ध गराउने तथा प्रत्यक्ष प्रसारणसम्बन्धी आवश्यकतालाई सहज रूपमा व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
बैठकले अर्को महत्त्वपूर्ण निर्णयस्वरूप खेल अधिकारीलाई ‘हक–आई’ प्रविधिबाट प्राप्त तथ्यांकमा पहुँच दिने व्यवस्था स्वीकृत गरेको छ । अब कुनै बलरको बलिङ शैलीमाथि शंका उत्पन्न भएमा खेल अधिकारीहरूले प्रतिवेदन तयार गर्दा वा अवैध बलिङ शैलीको अनुसन्धानबारे विचार गर्दा ‘हक–आई’ बाट प्राप्त प्राविधिक तथ्यांक प्रयोग गर्न सक्नेछन् । यसले निर्णय प्रक्रियालाई अझ वैज्ञानिक, वस्तुनिष्ठ र सटीक बनाउने विश्वास गरिएको छ । आईसीसीले टेस्ट क्रिकेटमा पिंक बल प्रयोगसम्बन्धी परीक्षण कार्यक्रमलाई पनि स्वीकृति दिएको छ ।
यो परीक्षण विशेषगरी कमजोर प्रकाशका कारण खेल प्रभावित हुने सम्भावना भएका अवस्थामा गरिनेछ । यद्यपि पिंक बल प्रयोग गर्नुअघि दुवै टोलीको पूर्वसहमति अनिवार्य रहनेछ । आईसीसीका अनुसार यस व्यवस्थाले कमजोर प्रकाशका कारण खेल रोक्नुपर्ने अवस्थालाई कम गर्न मद्दत गर्नेछ र अधिक ओभर खेलाउन सम्भव बनाउनेछ । आईसीसी बोर्डका यी निर्णयहरू क्रिकेट सञ्चालनलाई अझ आधुनिक, प्रविधिमैत्री र दर्शकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । प्रशिक्षकसम्बन्धी नियममा गरिएको सहजता, प्रविधिको प्रयोगको विस्तार तथा टेस्ट क्रिकेटमा गुलाबी बलको नयाँ परीक्षणजस्ता निर्णयहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यापक प्रभाव पार्न सक्ने विश्वास गरिएको छ ।