काठमाडौं । बूढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माणको काम सम्पन्न भएसँगै यातायात सेवा पुन: सञ्चालन गर्ने तयारी गरिएको छ ।
बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो ।
निर्माण सम्पन्न भएसँगै सोमबारदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलि मंगलबारदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ।
